नेपालमा लगानी बढाउन मन्त्री पुनको आग्रह

काठमाडौँ, २४ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुगेको क्यानेडियन प्रतिनिधिमण्डलललाई उहाँले भेटमा मन्त्री पुनले देशभित्रै १० वर्षमा १० हजार मेगावट बिजुली आवश्यक रहेको बताउनुभयो ।

नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्ट लगायतलाई मन्त्री पुनले नेपालको ऊर्जा ताथ भौतिक पूर्वाधारको क्षेत्रमा लगानी बढाउने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागि क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रहसमेत गर्नुभयो । “ऊर्जा मन्त्रालयले ५ वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने निकै महत्वकाङ्क्षी लक्ष्य राखेको छ, त्यसका लागि कामसमेत तीव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पूरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ,” मन्त्री पुनले भन्नुभयो ।

उहाँले केही समय भित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि ऊर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारीसमेत दिनुभयो । मन्त्री पुनले भारतसँग यसअघि नै ऊर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही वर्ष मात्र चीन र बङ्गलादेशसँग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताउनुभयो । उहाँले बङ्गलादेशले नेपालबाट ५०० मेगावाट र भारतले एक हजार ५०० मेगावाट बिजुली नेपालबाट किन्ने तयारी गरेको बताउनुभयो ।

मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गर्नुभयो । उहाँले नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नाका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका सम्भावनाबारे मन्त्री पुनसँग छलफल गर्नुभएको थियो । निजी क्षेत्रका प्रतिनिधिमण्डललाई लिएर आउनुभएका सांसद ट्रोस्टले जलाशययुक्त आयोजना निर्माणबारे समेत चासो राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.