विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ, १६ साउन : विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन आगामी भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजनामा हुने सो सम्मेलनले नेपाली हस्तकलालाई विश्वमाझ चिनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।

नेपाल हस्तकला महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले नेपाली हस्तकलालाई विदेशी मुलुकमा चिनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रत्येक चार वर्षमा हुन लागेको सो सम्मेलन नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी तथा विदेशी हस्तकला प्रर्वद्धनबारे बैठक, छलफल, गोष्ठी र स्वदेशी तथा विदेशी हस्तकलाको प्रदर्शन हुने महानिर्देशक रेग्मीले जानकारी दिनुभयो ।
विश्व कला परिषद्मा १२९ देशको सहभागिता भए पनि एशिया प्रशान्त क्षेत्रको सम्मेलन भएका कारण ५० भन्दाबढी मुलुकको सहभागी रहने महासंघले जनाएको छ । विश्व कला परिषद्मा नेपाल सन् १९९० देखि सदस्य राष्ट्रका रुपमा रहँदै आएको छ ।

सन् १९९० अगाडि सरकारीस्तरबाटै सदस्य राष्ट्रका रुपमा सहभागिता जनाउँदै आए तापनि १९९० पछि भने निजी क्षेत्रका रुपमा रहेको महासंघले विश्व कला परिषद्मा सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.