प्रभावकारी शिक्षा नीति ल्याउने गृहकार्य
इटहरी, ९ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्र्रेलले देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रभावकारी शिक्षा नीति ल्याउने गृहकार्य गरिरहेको बताउनुभएको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पस, प्रजातान्त्रिक प्राध्यापक सङ्घले आज यहाँ आयोजना गरेको ‘प्रादेशिक विश्वविद्यालय अवधारण’ विषयक एकदिने गोष्ठीको उद्घाटन गर्दै उहाँले प्रभावकारी शिक्षा नीति ल्याउन सरकारले आयोग बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री पोख्रलले हरेक प्रदेशमा कस्तो प्रकारको प्रादेशिक विश्वविद्यालय जरुरी छ भन्ने विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई देशको उत्पादनसँग जोडेर उच्च दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकार अग्रसर रहेको धारणा व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रलाई राज्य निर्माणसँगै जोडेर हेर्न जरुरी छ भन्दै उहाँले आमूल परिवर्तनकारी शिक्षा नीतिको तर्जुमा गर्न सरकारले आयोग बनाएको हुँदा यसमा इमान्दारीपूर्वक सुझाव दिन शिक्षाविज्ञसंग आग्रह गर्नुभयो ।
जनता बहुमुखी क्याम्पसका प्रम्ुख भोजराज श्रेष्ठले प्रादेशिक विश्वविद्यालयको आवश्यकताको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
गोष्ठीमा प्राध्यापक डा टङ्क न्यौपाने र टोलनाथ काफ्लेले ‘प्रादेशिक व्यवस्थापन विश्वविद्यालयको आवश्यकता’ तथा प्राध्यापक डा यादवराज कोईरालाले ‘प्रादेशिक विश्व विद्यालयसम्बन्धी मापदण्ड’ विषयक छुटाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक मीनराज ढकालले त्रिभुवन विश्वविद्यालयको जस्तै आङ्गिक कलेजको अवधारणा ल्याउनु उपयुक्त नभएको धारणा व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष अर्जुन उप्रेतीको सभापतित्वमा गोष्ठी सम्पन्न भयो ।
