पुस्तकबिना विद्यालय जान बाध्य हिमाली जिल्लाका विद्यार्थी 

मानदत्त रावल जुम्ला, २३ फागुन : सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थी पुस्तकबिना नै विद्यालयमा पढ्न आउने गरेका छन् । जुम्लालगायत हिमाली जिल्लामा पर्ने मुगु, कालीकोट, डोल्पा र हुम्लामा नयाँ शैक्षिक सत्र २५ माघदेखि शुरु हुने भए पनि यहाँका सामुदायिक विद्यालयका विद्यार्थीले फागुन तेस्रो सातासम्म पुस्तक नपाएकाले पुस्तकबिना विद्यालय आउने गरेका हुन् ।

सिञ्जा गाउँपालिकास्थित कैलाश मावि फुङग्रका प्रधानाध्यापक विष्णुलाल रोकायाका अनुसार कक्षा १ को पाठ्यपुस्तक छापिएर नआएका कारण विद्यार्थीलाई वितरण गर्न नसकिएको हो । उहाँले भन्नुभयोे, “अरू सबै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भइसकेको छ ।” कक्षा १ को पुस्तक किन नआएको भन्ने प्रश्नमा प्रधानाध्यापक रोकायाले भन्नुभयो, “पहिला पुस्तक छापिएको तर पछि पुनः पाठ्यक्रम परिर्वतन आएर आएपछि फेरि पुस्तक छाप्नुपर्ने भएकाले ढिलो भएको छ ।”

“त्यसैगरी कक्षा ४ को सामाजिक र नेपाली केही पुस्तक अपुग भएकाले स्टेशनरीबाट ल्याइने व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयोे, “एक÷दुई दिनमै विद्यालयमा पुस्तक पुग्नेछ । यस विद्यालयमा तीन सय ३० जना जति विद्यार्थी छन् । पानीको समस्या छैन तर शौचालय भने समस्या रहेको उहाँले बताउनुभयो । एउटै ठाउँमा दुई ढोका गरेको छात्रछात्राको प्रायोजनका लागि शौचालय भए पनि नजिकै भएकाले छात्रा शौचालय जान अप्ठ्यारो मानेर बाहिरै खुला दिसापिसाब गर्ने गरेको उहाँले बताए ।

श्री मावि जोडुका प्रधानाध्यापक नरबहादुर बुढाका अनुसार कक्षा ४ को नेपाली पुस्तक १५ थान अपुग भएको बताउनुभयो । उहाँले भन्नुभयोे, “विद्यार्थीको सङ्ख्यामा तलमाथि भएकाले केही पुस्तक अपुग भएको हो । छिट्टै विद्यालयमा ल्याउने व्यवस्थापन गरेका छौँ । विद्यालयमा अरू खासै समस्या छैन । शिक्षक विद्यार्थी नियमति विद्यालयमा उपस्थित छन् पढाइ निरन्तर भइरहेको छ ।”

सिञ्जा गाउँपालिकाको तत्कालीन नराकोट गाविसअन्तर्गत रहेका १२ विद्यालायमा पुस्तक वितरणको जिम्मेवारी लिएका पुस्तक बिक्रेता मोहनविक्रम शाहीका अनुसार कक्षा १ को पुस्तक नै नछपाएकाले वितरण नभएको हो । कक्षा ६, ७ र ८ को पुस्तक पनि रङ्गीन हुनुपर्ने हो तर छैनन् । केही दुई÷चार पुस्तक मात्रै रङ्गीन छन् अरू सबै पुरानो पठाएको अनुमान गरेको उहाँले बताउनुभयो ।

जुम्ला जिल्लाभरि पुस्तक बिक्री गर्दै आएका जिपी स्टेशनरीका बिक्रेता गणेश रोकायाले भन्नुभयो, “कक्षा १ को पुस्तक आएको छैन । नयाँ पाठ्यक्रम परिर्वतन भएर आएकाले पुस्तक छाप्न समय लाग्ने भएको बुझिन आएको छ । अरू सबै कक्षाका पाठ्यपुस्तक आइसकेका छन् धेरै विद्यालयमा वितरण पनि भइसकेको छ । आवश्यक भएका विद्यालयलाई लिन उहाँले अनुरोधसमेत गर्नुभयो ।”

पातारासी गाउँपालिका शिक्षा शाखा संयोजक झनमाया खत्रीका अनुसार विद्यालयमा पाठ्यपुस्तक पुगेको छ तर पाठ्यक्रम परिवर्तन भएकाले नेपाली माध्यममा पढाइ हुने विद्यालयमा कक्षा १ को पुस्तक पुगेको छैन । जुम्लामा एक सय ७० सामुदायिक विद्यालयमध्ये कक्षा १ देखि ५ आधारभूत विद्यालय ९२, कक्षा १ देखि ८ आधारभूत विद्यालय ३१, कक्षा १ देखि १० मावि ३१ र कक्षा १ देखि १२ मावि १६ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.