शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताउनुभएको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उहाँले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताउनुभएको हो । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताउनुभयो । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो ।

आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.