विद्यालय सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य हुनुपर्ने : मन्त्री बराल

सुशीला रेग्मी । (पाल्पा), १६ पुस : प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालय सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

पाल्पाको रामपुर नगरपालिका ७ स्थित आधारभुत माविको नवनिर्मित चारकोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री बरालले शैक्षिक गुणस्तर बृद्धि गर्न सकेमा मात्र देश समृद्ध बन्ने बताउँदै शिक्षक, विद्यार्थी र अभिभावक त्रिपत्रिक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक गुणस्तर बृद्धिका लागि आफु र प्रदेश सरकार हरपल लागेको बताउँदै मन्त्री बरालले प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य र रोजगारका लागि सहयोग गर्ने बताउनुभयो ।

मन्त्री बरालले जनस्तरबाट भएको मेहनतले समाज रुपान्तरणमा सहयोग पुगेको र प्रदेश सरकारबाट रामपुर नगरपालिकामा आएको वजेट सही कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । भुकम्प पुनः निर्माण प्राधिकरणको रु ६९ लाख ४२ हजारको लागतमा भवन निर्माण गरिएको हो ।

यसैगरी रामपुर नगरपालिका ६ स्थित नवदुर्गा माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे पक्की विद्यालयको पनि मन्त्री बरालले नै उद्घाटन गर्नुभएको छ । पुनः निर्माण प्राधिकरणको रु ७० लाखको लागतमा चारकोठे विद्यालयको भवन निर्माण गरिएको हो । साना कक्षाका बालबालिका लागि लक्षित गरी नयाँ भवन निर्माण गरिएको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताउनुभयो ।

मन्त्री बरालबाट होटेल उद्घाटन

नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर पाल्पाको रामपुरमै पहिलो पटक स्वीमिङ पुल सहितको होटल पनि मन्त्री बरालले उद्घाटन गर्नुभएको छ । रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको नमस्ते होटल एण्ड रेष्टुरेण्ट तथा पार्टी प्यालेसको उद्घाटन गर्नुभयो । उहाँले भौतिक पूर्वाधार थपिदै जादा रामपुरको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो ।

शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा स्थानीय कमल पाण्डेय र शिव पाण्डेयले तीन तलाको होटल निर्माण गरी संचालनमा ल्याउनुभएको हो । होटल शुभारम्भका अवसरमा तीन दिन सम्म साँझ ५ वजेदेखि राती १० बजे दोहोरी साँझ आयोजना गरिएको संचालन शिव पाण्डेयले बताउनुभयो ।

पाल्पाको रामपुर नगरपालिकामा भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन गरिएको होटेल नमस्ते एण्ड रेष्टुरेण्ट तथा पार्टी प्यालेसको उदघाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल । तस्वीर: सुशीला रेग्मी

आफ्नै तीन रोपनी क्षेत्रमा आठ सय मानिस अट्ने क्षमताको हल सहित तीन तलाको होटल तथा रेष्टुरेण्ट निर्माण गरिएको छ । यहाँ १३ वटा एट्याज रुम, ४ वटा एसी रुम, सभाहल, रेष्टुरेण्ट हल, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको अर्का संचालक कमल पाण्डेय बताउनुहुन्छ ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी पर्यटन वर्षको सुरुकै दिन यहाँ होटल संचालनमा ल्याएपछि रामपुरको पर्यटन विकासमा यस होटलले सघाउ पुग्ने रामपुरवासीको आशा छ ।

यसैगरी भ्रमण वर्ष २०२० लाई लक्षित गरी रामपुरमै पहिलो पटक भिटामिन द क्याफेको पनि सुरुवात गरिएको छ । रेग्मी कम्पनिस्द्धारा रामपुर बेझाड बजारमा क्याफे संचालनमा आएको छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा पछिल्लो समय ठुला ठुला लगानीमा विभिन्न भौतिक पूर्वाधारमा लगानी गरिदैछ । यहाँ घर तथा भवन, विभिन्न उद्योग,व्यापार, व्यवसायमा ठुलो लगानी थपिदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.