रामपुरको विजय प्राविको स्वर्ण महोत्सव सम्पन्न

सुशीला रेग्मी । पुस १४, पाल्पा : विजय प्राथमिक विद्यालय रामपुर नगरपालिका वडा नं ७ सर्पराज पाल्पाले स्वर्ण महोत्सव मनाएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वर्ण स्तम्भ अनावरण तथा स्मारिका विमोचन गरी महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै कुनै पनि बालबालिकालाई आर्थिक अवस्थाका कारण शिक्षा लिनबाट वन्चित हुन नदिने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले शिक्षाको विकास नभएसम्म कुनै पनि क्षेत्रको विकास नहुुने र आजको आवश्यकता अनुसार सामुदायिक विद्यालयले अंग्रेजी शिक्षामा जोड दिन थालेको बताउनुभयो । हाम्रा स्कुल होइनन् राम्रा स्कुल, थोरै विद्यार्थी सहितको स्कुल होइन, धेरै विद्यार्थी सहितको गुणस्तरिय विद्यालयका लागि विद्यालय गाँभ्ने र बालमैत्री विद्यालय बनाउनु आजको आवश्यकता रहेको इकाई प्रमुख पौडेल बताउनुहुन्छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, शिक्षा समन्वय विकास तथा इकाई सदस्य देवराज ढकाल, नगर समन्वय समिति सदस्य राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराई, नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं १ का अध्यक्ष मित्रलाल कंडेल, बत्रकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ऋषिराम भट्टराई, गरिमा विकास बैंक रामपुर शाखाका प्रमुख रमेश ढकाल, सामुदायिक विद्यालयको तर्फबाट आधारभुत माविका प्रधानाध्यापक रुपनाथ गौतम, पुर्व विद्यार्थीको तर्फबाट मोहन भट्टराई, पुर्व प्रधानाध्यापक मनोरथ भट्टराई, पुर्व विद्यालय व्यवस्थापन समितिको तर्फबाट बुद्दिराज गौतम, पुर्व शिक्षक सुकदेव पोखरेल, जापानीज नागरिक काजुमासा काकिमि (ओकेबाजे) लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

कार्यक्रमका अवसरमा राष्ट्रिय कलाकार डिबि कालिजले हास्यव्यङ्ग्य र विद्यार्थीबाट रमाइलो सास्कृतिक कार्यक्रम देखाइएको छ । विद्यालयमा सहयोग गर्नुहुने विभिन्न व्यक्ति तथा संस्था, अक्षयकोषदाता, पूर्व विद्यालय, शिक्षक लगायतलाई विद्यालयमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लेखबहादुर साठ्ठिघरेले वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको थियो । स्वर्ण महोत्सवको अवसर पारी विद्यालयमा विभिन्न व्यक्तिबाट अक्षयकोष स्थापनाको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.