गैरकानूनी शुल्क फिर्ता गर्न विद्यार्थीको प्रदर्शन

मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेको भन्दै तत्काल बढी शुल्क फिर्ता गर्न दबाबका लागि भरतपुरमा निकालेको विरोध प्रदर्शनमा विद्यार्थी सहभागी हुँदै । तस्वीर: नारायण अधिकारी

चितवन, ८ मङिसर : चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा आज यहाँ बृहत् प्रदर्शन भएको छ । मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो ।

वीरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो । विरोध र्यालीपछि आयोजित कोणसभामा अभिभावक विष्णुप्रसाद ओली र विद्यार्थी मान्यता थापाले बढी शुल्क असुल गर्ने कलेजहरुलाई कडा कारवाही गरिनुपर्ने माग गर्नुभयो ।

मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले बढी उठाएको शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय सोमबार सकिँदैछ । विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानूनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारवाही गर्ने जनाएको छ ।

यसैबीच शनिबार चितवन मेडिकल कलेजको कैलाशनगरमा रहेको कलेज परिसरबाट पेस्तोल र गोली भेटिएको भन्दै प्रहरीले विशेष निगरानी बढाएको छ । पेस्तोल कसले राखेको भन्ने विषयमा प्रहरीले अध्ययन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.