समृद्ध नेपालका लागि शिक्षामा लगानी बढाउनुपर्ने
काठमाडौँ, ३१ साउन : शिक्षा क्षेत्रका विज्ञहरुले नेपालको शिक्षा प्रणाली व्यावहारिक र उपयोगी हुनुपर्नेमा जोड दिनुभएको छ ।
युथ एड्भोकेशी नेपाल(यान) र सोच नेपाललगायतका सङ्घ/संस्थाद्वारा आयोजित दोस्रो युवा अधिकार मेघा मिट–२०७६ अन्तर्गत ‘शिक्षामा रुपान्तरणः चुनौती र अवसर’ विषयक दुई दिने छलफलमा शिक्षा क्षेत्रका विज्ञले शिक्षालाई उद्योगसँग जोडेर व्यावहारिक बनाउनुपर्ने धारणा रख्नुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले नेपालको शिक्षालाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी गुणस्तरीय र रोजगारमूलक बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षाबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै राज्यले शिक्षामा अत्यधिक लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एक शिक्षण संस्था एक उद्योगको नीति बनाएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने धारणा रख्नुभयो । शिक्षाविद् केदारभक्त माथेमाले पछिल्लो समयमा उच्च शिक्षा वा रोजगारीका लागि विदेश जाने नेपाली युवालाई रोक्नका लागि सरकारले उत्पादनमुखी शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
यानका अध्यक्ष नरेन खतिवडाले देशमा रहेका एक करोड ६० लाख युवाको शिक्षामा राज्यले लगानी गर्न सकेको खण्डमा दक्षजनशक्ति उत्पादन हुने विश्वस व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एक करोड युवाका लागि १० प्रतिशत मात्र बजेट खर्च गर्ने गरिएको छ, जबसम्म शिक्षामा लगानी हुँदैन तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।” दुई दिनसम्म सञ्चालन हुने सो छलफलबाट प्राप्त निष्कर्षसहित शिक्षा मन्त्रालयलाई सुझाव दिइनेछ ।
