विदेशको अनुभव र पुँजी स्वदेशकै होटल व्यवस्थापन शिक्षामा

प्रकाश सिलवाल । काठमाडौँ, २० असार : मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् ।

अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास केसी कस्सिएका छन् ।

स्वदेशमै पूँजी र प्रविधिको उपयोग गरी होटल व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन चितवनमा यी केसी दाजुभाइले मैतीदेवीमा ‘प्यासिफिक होटल एण्ड कुलुनरी एकेडेमी’ सञ्चालनमा ल्याएका हुन् । गणेश केसी गैरआवासीय नेपाल सङ्घ अष्ट्रेलिया शाखाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । अष्ट्रेलियाको ‘इन्टरनेशन सर्भिसेस संस्था’ को सहकार्यमा तीन वर्षदेखि होटल व्यवस्थापनमा डिप्लोमा कक्षा चलाइरहेको सो एकेडेमीले यस वर्षदेखि सूर्याेदय शैक्षिक फाउण्डेशनको सहकार्यमा सोही विषयमा साबिक उच्च माध्यमिक शिक्षा परिषद्कोे कोर्षमा आधारित कक्षा ११ र १२ मा भर्ना लिने भएको छ । कक्षा ११ का लागि पढाइसहित अन्तर्राष्ट्रियस्तरको कुक र अन्य तालीम एकेडेमीले उपलब्ध गराउन वार्षिक कूल रु एक लाख शुल्क निर्धारण गरेको सूर्याेदय माविका प्रिन्सिपल लक्षबहादुर केसीले जानकारी दिनुभयो ।

ती कक्षामा होटल व्यवस्थापन, व्यवस्थापन र कम्प्युटर विज्ञान विषय पढाउन एकेडेमीले भर्ना खोलेको छ । ती विद्यार्थीले एकेडेमी परिसरमा रहेको ‘ब्रिटिश कफी स्कुल’ मा अभ्यास र तालीम प्रमाणपत्र पनि पाउन सक्नेछन् ।

नेपाल सरकारले हालै तयार गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी प्रतिवेदनमा मुलुकका लागि २५ वर्षसम्म कुन क्षेत्रमा कस्ता जनशक्ति आवश्यक पर्छ, त्यसका लागि विश्वविद्यालय र विद्यालयले शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने उल्लेख थियो । पाइलट बनेर हवाईजहाज छुन नपाउने र शिक्षा शास्त्र पढेर पढाउन नपाउने स्थितिको अन्त्यका लागि पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आह्वान गर्दै आउनुभएको छ ।

प्राविधिक शिक्षा र व्यावसायिक तालीम परिषद्को सम्बन्धनमा कमर्सियल कुकरी, ब्रेकरी, पिजा मेकिङ, कफी मेकिङ (वरिष्ठा) विषयमा बेलायती डिग्री दिने कार्यक्रम पनि अघि सारेको एकेडेमीका अन्तर्राष्ट्रिय संयोजक विकास केसीले बताउनुभयो । उहाँले नेपालमा होटल व्यवसाय फस्टाउँदै गरेको अवस्थामा यस प्रकारको शिक्षाले रोजगारी, उद्यमशीलता, समृद्धि सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सिटिइभिटीका पूर्व सदस्य–सचिव डा अग्निप्रसाद काफ्लेले विद्यार्थीले पढेर गरिखान सकून् भन्नका लागि उनीहरुमा शिक्षा र सीप दुवै चाहिने कुरालाई एकेडेमीले आत्मसात् गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषय चुनौतीपूर्ण छ तर विद्यार्थी कठिन र सरल दुवै खालका सीप दिन कक्षा ११ र १२ मा यस प्रकारको विश्वस्तरको शैक्षिक संस्था नेपालमै पहिलो हुन सक्नेछ, जसलाई मध्यम परिवारका विद्यार्थीले पनि उपयोग गर्न सक्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.