४० वर्षदेखि बूढानीलकण्ठ वेद विद्याश्रमलाई निरन्तर सहयोग
काठमाडौँ, ११ भदौ : समाजसेवी प्रा डा जगदीश वैद्यले ४० वर्षदेखि बूढानीलकण्ठ वेद विद्याश्रमलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ ।
विसं २०३५ को हरिबोधनी एकादशीदेखि वाग्मती सरसफाइमार्फत समाजसेवा गर्नुभएका वैद्यले विभिन्न सङ्घसंस्थालाई नगद तथा जिन्सी सामग्री सहयोग गर्दै आउनुभएको हो ।
समाजसेवाकै क्रममा उहाँले आज बूढानीलकण्ठस्थित वेद विद्याश्रमलाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्नुभयो । उहाँले हरेक महीना सो विद्याश्रमलाई रु २० हजारभन्दा बढी मूल्यको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्दै आउनुभएको छ ।
उक्त खाद्यान्न र लत्ताकपडा समाजसेवी वैद्य र राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले आज संयुक्तरुपमा बूढानीलकण्ठ मन्दिरका पीठाधीश स्वामी निगमानन्द महाराजलाई हस्तान्तरण गर्नुभयो । बूढानीलकण्ठ वेद विद्याश्रममा हाल ४५ विद्यार्थी अध्ययनरत छन् ।
सो अवसरमा राससका महाप्रबन्धक शर्माले मुलुकको समाजसेवाको क्षेत्रमा वैद्यले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
बूढानीलकण्ठ मन्दिरका पीठाधीश निगमानन्द महाराजले विद्याश्रमको विकास र विस्तारका लागि वैद्यको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।
समाजसेवी वैद्यले यसका अलावा विभिन्न मन्दिर तथा सङ्घ संस्थालाई प्रतिवटा रु ११ लाख ७५ हजार पर्ने मूर्ति वितरण गर्नुभएको छ । उहाँले उक्त मूर्ति मुलुकभरका १०० मन्दिर तथा सङ्घ संस्थालाई वितरण गर्ने बताउनुभयो । वैद्यले हाल नेपालका ११ वृद्धाश्रम, १३ बालआश्रम र ७३ वेद विद्याश्रमलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्दै आउनुभएको छ ।
वैद्यलाई सरकारले विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको उपाधिसमेत प्रदान गरेको छ ।
