योजनाबद्ध विकासमा जोड
काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौँ साधारणसभालाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “योजनाबद्ध विकासका लागि सरोकार भएका सबै निकायको उल्लेख्य सक्रियता र सहभागिता जरुरी छ ।” राष्ट्रिय आवश्यकता र नेपाली जनताको चाहनालाई केन्द्रमा राखेर विकास निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
“विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा विकास गर्नु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यहाँ पठनपाठन सँगसँगै देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान पनि हुनु जरुरी छ ।” सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसैअनुसारको विद्यालय र कलेज खोल्ने तयारी गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । विश्वविद्यालयलाई सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । सो अवसरमा विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
