‘अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने’

कैलाली, ९ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले मन्त्रिपरिषद् बैठकबाट अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भइसकेको बताउनुभयो ।

“अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले बैंकमा खातासमेत खोल्न पाउँदैन”, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले चाँडै नै साक्षर नेपाल घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशातर्फ अघि बढिरहेको बताउनुभयो । गत वर्ष तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेकामध्ये दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइसकेको र बाँकी ६० हजारलाई स्थानीय सरकारले घरधुरी सर्वेक्षण गरी आफैँले स्वयं घोषणा गर्नुपर्ने मन्त्री पोख्रेलको भनाइ थियो ।

मन्त्री पोखरेलले नेपालको शिक्षामा ७९ प्रतिशत सार्वजनिक शिक्षाको योगदान रहेकाले सार्वजनिक शिक्षाको एजेण्डालाई मजबुत बनाउनुपर्ने र अरु प्रणालीलाई यसको पूरक हुनेगरी लैजानुपर्ने धारणा व्यक्त गनुभयो । विद्यालय तथा विश्वविद्यालयको परीक्षा हुने, नतिजा प्रकाशन हुने, पढाउनेलगायत विषयका सन्दर्भमा देशभरि लागू हुनेगरी शैक्षिक क्यालेण्डर निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.