देशभर विद्यार्थी भर्ना अभियान शुरु, सफल बनाउन शिक्षामन्त्रीको आग्रह

भक्तपुर, ३ वैशाख : ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान शुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिनुभयो । शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा विद्यार्थी भर्ना अभियान स्थानीय तहले सञ्चालन गर्नुपर्ने व्यवस्था अनुरुप यस वर्षदेखि सरकारले तय गरेको नारामा आधारित रहेर प्रत्येक स्थानीय तहले सोमबारबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत विद्यार्थी भर्ना गराउन आह्वान गर्नुभएको बताउनुभयो । यस वर्ष विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने भएको छ । गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेपनि यस वर्ष यो सङ्ख्या बढेको अनुमान छ । पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएको बताइएको छ ।

भर्ना अभियानअन्तर्गत वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र त्यसपछि घरदैलो अभियान सञ्चालन गरेर भर्ना अभियान सञ्चालन गरिने केन्द्रका निर्देशक शर्माले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको छ ।

सफल बनाउन शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता आँैल्याउनुभएको छ ।

शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताउनुभएको छ ।

“यस ढोकाबाट विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ”, शिक्षामन्त्रीको अपिलमा भनिएको छ ।

यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको बताउनुभयो ।

विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ । शैक्षिकसत्र २०७६ का लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने आदर्श वाक्य चयन गरी सोमबारबाट भर्ना अभियान २०७६ शुरु भइसकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस्तै हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाउने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.