‘अनुशासनले सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने’ : प्रदेश प्रमुख कोइराला

ललितपुर, २ चैत (रासस) ः प्रदेश ३ नं का प्रमुख अनुराधा कोइरालाले हरेक समुदायमा नयाँ कामको थालनी हुनुले देश विकासमा आधार निर्माण गर्न सहयोग पुगेको बताउनुभएको छ ।

महालक्ष्मी नगरपालिका–९ सिस्नेरीस्थित शुभतारा विद्यालयको ३०औँ वार्षिकोत्सव समारोहमा प्रमुख कोइरालाले भन्नुभयो, “हरेक विद्यार्थीले अनुशासनको पालना गरी सदैव निरन्तर अघि बढ्दा सभ्य समाज निर्माण गर्न सहयोग पुग्नेछ ।”

पछिल्लो समय सामाजिक सञ्जालले बालबालिकाको विवेकशीलतामा तगारो पैदा गरिरहेको र यसले उनीहरुमा अनुशासन र पारिवारिक जमघट घट्दै जाँदा भोलि समाजमा अनेक समस्या आउन सक्नेतर्फ अहिले नै सबै सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समारोहमा महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न तीन वटा विद्यालयमा प्राविधिक शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक खेमनाथ तिमिल्सिनाले वार्षिकोत्सवका अवसरमा स्थापना गरिएको ‘शुभतारा शिक्षक तालीम तथा अनुसन्धान केन्द्र’ ले नगरपालिकाभित्रका अन्य विद्यालयका शिक्षकलाई पनि विभिन्न किसिमको तालीम दिने बताउनुभयो ।

समारोहमा सो विद्यालयबाट उत्तीर्ण भई देश तथा विदेशमा योगदान गरिरहेका ३५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । आउँदो वर्षबाट ११ कक्षा सञ्चालन गरी गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति दिने उद्देश्यका साथ विद्यालयले कोष स्थापनाको शुरुआत गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.