५० वर्ष पुराना विद्यालयलाई सहयोग गर्न आग्रह

काठमाडौँ, २९ फागुन : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिको प्रतिभा उजागर गर्ने थलो विद्यालयले उत्पादन गर्ने जनशक्तिबाट नै नयाँ नेपालको निर्माण हुने बताउनुभएको छ । पद्मोदय माविको ७३औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा विद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षाविद्लाई सम्मान तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गर्दै जोशीले घोकन्ते विद्याबाट विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि नहुने भएकाले व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

भानु मावि, पद्मोदय मावि, त्रिचन्द्र कलेजजस्ता शिक्षा क्षेत्रको इतिहास स्मरणीय रहेको बताउँदै आफ्ना सहपाठी तीर्थबहादुर मानन्धर, प्रेमबहादुर कंसाकार आदिबाट शिक्षाक्षेत्रमा दिइइको योगदान अविष्मरणीय रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सांसद भीमसेनदास प्रधानले शिक्षक, विद्यार्थी तथा अभिभावकको समन्वयबाट मात्र विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न सकिने बताउँदै सरकारलाई ५० वर्ष नाघेको विद्यालयलाई प्राथमिकतामा राखेर सहयोग गर्न सुझाव दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक मीनाकुमारी पोखरेलले भूकम्पबाट क्षतिग्रस्त विद्यालयमा भूकम्पपछिको ६ महीनाभित्र नै अस्थायी सिकाइ केन्द्र स्थापना गरी विद्यार्थीको पठनपाठन सञ्चालन गरिएको जानकारी दिँदै एशियाली विकास बैंकको रु ६ करोडको आर्थिक सहयोगमा २५ कोठे चारतले नयाँ भवन निर्माण भएको बताउनुभयो ।

राणा प्रधानमन्त्री पद्मशम्शेरका नामबाट २००३ सालमा स्थापित सो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त खरेलले हाल देशमा २८ प्रतिशत विद्यार्थी निजी क्षेत्रमा अध्ययन गर्ने गरेको बताउँदै बाँकी ७३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.