एण्डालास र कालिकाबीच समझदारी

चिप्लेढुङ्गा, २६ फागुन : पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई देशका क्याम्पसबीच समझदारी भएको हो । समझदारी पत्रमा (एमओयू) क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र एण्डालास विश्वविद्यालयका प्रतिनिधि डा मास्कोटा डेल्फीले हस्ताक्षर गर्नुभएको हो ।

कालिका सामुदायिक क्याम्पस ग्रामीण विकास विभागद्वारा आयोजित सो सम्मेलनमा चार देशका प्राध्यापकले समाजशास्त्रीय अनुसन्धानबाट ग्रामीण विकासको अवस्था, जलवायु परिवर्तन र त्यसले जनजीवनमा पारेको प्रभाव, समाजशास्त्र र पर्यटन, खाद्य सुरक्षा, सनातन सामाजिक संरचना, पुस्तान्तर, वैदेशिक रोजगार, लैङ्गिक सवाल, दिगो विकासका बारेमा प्रस्तुति राखेका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद् सूर्यबहादुर केसीले सामुदायिक क्याम्पससँग इण्डोनेशियाको विश्वविद्यालयबीचको भगिनी सम्बन्धले दुई देशबीच शिक्षामार्फत संस्कृति र विकासलाई आदानप्रदान गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । केसीले ग्रामीण विकासमा स्नातकोत्तर अध्यापन हुने कालिका बहुमुखी सामुदायिक क्याम्पस गण्डकी प्रदेशको एक मात्र क्याम्पस भएको बताउनुभयो । ग्रामीण विकास नै आर्थिक समृद्धिको आधार भएकाले दक्ष जनशक्ति उत्पादन गरेर देशभित्रै रोजगारी सिर्जना गर्न ग्रामीण विकास अध्ययनले सहयोग हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्राध्यापक डा चन्द्रा भद्रा, प्राध्यापक डा शुक्रराज अधिकारी, अष्ट्रेलियाका प्राध्यापक जोन रिचार्ड, एण्डालास विश्वविद्यालयका प्राध्यापक डा मास्कोटा डेल्फी, महात्मागान्धी विश्वविद्यालयका साइमन भिएस, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विकासकुमार केसी, डा राजेन्द्रप्रसाद उपाध्याय, डा माधवप्रसाद बराललगायत ७० जनाको सहभागिता रहेको थियो ।

विभिन्न सत्रमा विभाजन गरी करीब २० प्राज्ञिक प्रतिवेदन प्रस्तुतिसहित सम्पन्न सो सम्मेलन पोखरामा पहिलोपटक आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.