गुरुकुलीय शिक्षा पद्धतिलाई जगेर्ना गर्न जोड

नेपालमा गुरुकुलीय शिक्षा पद्धतिका अग्रणी व्यक्तित्व डा स्वामी रामानन्द गिरीको पहिलो वार्षिक तिथिका अवसरमा तीनदिने विद्वत् सम्मेलन काठमाडौँमा शुरु भएको छ ।

तनहुँको देवघाटमा विसं २०५० मा महेश सन्न्यास आश्रम एवं महेश संस्कृत गुरुकुलको स्थापना गरी उहाँले वैदिक ज्ञान परम्पराको जगेर्नाका लागि योगदान दिनुभएको थियो । स्थापनाको रजत वर्षको अवसरसमेत पारेर आयोजित सम्मेलनमा पेश हुने चार कार्यपत्रमध्ये निर्मलमणि अधिकारीको ‘समाजको सर्वपक्षीय समुन्नतिका लागि संस्कृत शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कृतिविद् डा जगमान गुरुङले संस्कृत र संस्कृतिको विनाश भयो भनी पश्चिमालाई गाली गर्नुभन्दा सबैले आफ्नो संस्कारमा बस्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका प्रा डा कमलाकान्त त्रिपाठीले गुरुकुलीय शिक्षा पद्धतिलाई यथावत् जगेर्ना गर्न सके वैदिक ज्ञान परम्पराको निरन्तरता रहने बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीले वैदिक ज्ञानविज्ञानको संरक्षणका लागि गुरुकुलीय शिक्षा पद्धतिको संरक्षण हुनुपर्ने विचार राख्नुभयो । कार्यक्रममा स्वामी मधुसूदनानन्द गिरीले डा गिरीको नेतृत्वमा नेपालमा गुरुकुलीय शिक्षा पद्धतिले पुनःजीवन पाएको बताउनुभयो ।

सम्मेलनको दोस्रो दिन बिहीबार तीन कार्यपत्र प्रस्तुत हुने आयोजक संस्था महेश संस्कृत गुरुकुल देवघाट तनहुँका सहायक प्राचार्य फणीन्द्रप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बिहीबार भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले ‘विश्व भाषामा संस्कृतको प्रभाव’ विषयको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । पोखरेलको कार्यपत्रमाथि प्रा डा जयराज आचार्यले टिप्पणी गर्नुहुनेछ । यसैगरी शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले ‘गुरुकुलीय शिक्षाको प्रभावकारिताका लागि अवलम्बनीय शैक्षिक नीति’ शीर्षकको कार्यपत्र पेश गर्नुहुनेछ । कार्यपत्रमाथि प्राज्ञ प्रा दिनेशराज पन्तले टिप्पणी गर्नुहुने छ ।

यसैगरी प्रा डा राजेन्द्र सुवेदीले ‘नेपालमा संस्कृत विद्याको गौरवाधानमा स्वामी रामानन्द गिरीको अवदान’ विषयको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सोमाथि प्रा डा वासुदेव त्रिपाठीले टिप्पणी गर्नुहुनेछ । गुरुपूर्णिमाका दिन शुक्रबार बिहान गुरुपूजन र सम्मेलनको निष्कर्ष सार्वजनिकीकरणसहित समापन गरिने जनाइएको छ । डा गिरीको गत वर्ष गुरुपूर्णिमाका दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.