शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता

काठमाडौँ, २२ फागुन : भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ ।

दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था (सिबिआरआई) रुड्की भारतका समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यसैगरी प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख इमनारायण श्रेष्ठ र दूतावासका पुनःनिर्माण प्रभाग प्रमुख सुचिता किशोरले शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । भारत सरकारले शैक्षिक संस्थाको पुनःनिर्माण एवं प्राविधिक सहयोग प्रदान गर्न रु पाँच अर्ब सहयोग गर्ने एकाइ प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

सम्झौतानुसार संस्थाले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० माध्यमिक विद्यालयको पुनःनिर्माणमा प्राविधिक सहयोग गर्नेछ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिने बताइएको छ ।

संस्थाले सरकारको विपद् उत्थानशील पुनःनिर्माण निर्देशिकानुरुप शैक्षिक संरचनाको पुनःनिर्माण एवं प्रबलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) सँग सहकार्य गर्ने जनाइएको छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्झौताबमोजिम सात जिल्लाका शैक्षिक संरचना बनाउन स्थानीय सरकारको साथ सहयोग पनि जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । निजी आवास पुनःनिर्माणले गति लिएको पनि उहाँले बताउनुभयो ।

राजदूत सिंहले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई पूर्णता दिन शिक्षा पहिलो आधार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.