समायोजनमा असन्तुष्ट शिक्षा सेवाका कर्मचारीलाई आश्वासन
काठमाडौँ, १६ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सेवाका कर्मचारीलाई कर्मचारी समायोजनमा परेका मर्काका विषयमा सामान्य प्रशासन मन्त्रालयसँग परामर्श गरेर समस्याको समाधान खोजिने आश्वासन दिनुभएको छ ।
समायोजनमा असन्तुष्ट शिक्षा सेवाका उपसचिव र अन्य कर्मचारीले आज सिंहदरबारस्थित मन्त्रालयमा ध्यानाकर्षण गराएपछि मन्त्री पोखरेलले सो आश्वासन दिनुभएको हो । मन्त्री पोखरेलले सरकारभित्रकै समस्या भएकाले आपसमा बसेर वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा धर्नालगायत दबाबमूलक कार्यक्रम अघि नसार्न पनि आग्रह गर्नुभयो ।
आफूहरु सेवा प्रवेश गर्दाको कानूनी व्यवस्थाबमोजिम योग्यता, क्षमता पूरा गरेको अवस्थामा निजामती सेवाको उपल्लो पदसम्म अर्थात् मुख्य सचिवसम्म पुग्न सक्ने अवस्था रहे पनि जारी कर्मचारी समायोजन ऐनले उक्त अवसरबाट वञ्चित गराएको भन्दै शिक्षा प्राविधिक सेवाका कर्मचारीले विरोध गर्दै आएका छन् । उक्त अध्यादेश कर्मचारीको मर्मविपरीत र संविधानसँग बाझिएको ती कर्मचारीको भनाइ छ ।
