भर्जिनिया विश्वविद्यालयको टोली तनहुँमा
दमौली, २२ पुस : अमेरिकाको भर्जिनिया विश्वविद्यालयको टोलीले तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको भ्रमण गर्दै शैक्षिक गतिविधिबारे अध्ययन गरेको छ ।
क्याम्पसको निमन्त्रणामा विश्वविद्यालय ‘स्कूल अफ ल’का प्रा. क्यामिलो साञ्चेजको नेतृत्वमा आएको प्राध्यापक तथा विद्यार्थीको १८ सदस्यीय टोलीले क्याम्पसको अवलोकन गर्दै शैक्षिक गतिविधिबारे जानकारी लिएको हो ।
विश्वविद्यालयको टोलीलाई क्याम्पसमा स्वागत गर्दै संविधानसभाका सदस्य एवं क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले दुई संस्थाबीच सम्बन्ध कायम गर्न र दुई देशबीचको सम्बन्ध विस्तारका लागि भ्रमणले सहयोग पु¥याउने बताउनुभयो ।
विश्वविद्यालयका प्रा.क्यामिलो साञ्चेजले दुई संस्थाबीचको शैक्षिक गतिविधि सम्बन्धमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आदिकविको भ्रमण गरिएको बताउँदै दुई संस्थाकाबीच संस्थागतरुपमा विद्यार्थी आदानप्रदान कार्यक्रम अगाडि बढाउन पहलसमेत गरिने बताउनुभयो ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समग्र क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउनुभएको कार्यक्रममा व्यवस्थापन सङ्कायमा कानून विषयको अध्ययन अध्यापन पद्धति र महत्वका बारेमा सहायक प्राध्यापक विमल गिरीले जानकारी गराउनुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले भ्रमणले दुई संस्थामा भइरहेको शिक्षण विधि र अनुभव आदानप्रदान गर्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा व्यास नगरपालिकाका पूर्वप्रमुख एवं क्याम्पस सञ्चालक समितिका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष समुन्द्र गोदार, जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनार, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्य अतिन्द्र केशरी न्यौपानेलगायतले क्याम्पसबारे चर्चा गर्नुभएको थियो ।
