त्रिविमा प्राज्ञिक विशिष्टताको आधारबारे प्रतिवेदन
काठमाडौँ, पुस : त्रिभुवन विश्वविद्यालयमा अनुसन्धानात्मक प्राज्ञिक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकको नियुक्तिको आधार एवं सिफारिससम्बन्धी प्रक्रिया २०७२ लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा तयारी समितिले आज उपकुलपति प्रा डा तीर्थ राजसमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ ।
त्रिवि उच्च शिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्को गत भदौ १९ गतेको बैठकको निर्णयानुसार प्रा डा पुष्कर बज्राचार्यको संयोजकत्वमा संशोधन मस्यौदा समिति गठन गरिएको थियो ।
त्रिवि शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ७ उपनियम २ र ३ ले दिएको अधिकार प्रयोग गरी त्रिवि कार्यकारी परिषद्को सिफारिसमा त्रिवि सेवा आयोगले त्रिविमा अनुसन्धानात्मक विशिष्टताको आधारमा शिक्षक पदमा खुला प्रतियोगिताको माध्यमबाट गरिने नियुक्ति सिफारिसका लागि यो विनियममा संशोधन गर्न लागिएको हो । मस्यौदाबारे कार्यकारी परिषद्ले निर्णय गर्ने उपकुलपति खनियाले बताउनुभएको त्रिविले जनाएको छ ।
