ताइवानबाट कृषिमा २६ नेपाली विद्यार्थीद्वारा स्नातक तह उतिर्ण

आशिष थापा । काठमाडौं, २५ असार : नेपालबाट शतप्रतिशत छात्रवृती पाएर ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजिमा अध्ययनरत २६ नेपाली विद्यार्थीहरुले कृषि विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन । नेपालबाट शम्भु केसी र ताइवानस्थित उक्त विश्वविद्यालय प्राध्यापक डा. लेखनाथ काफ्लेको सक्रियता र पहलमा ति विद्यार्थीहरूले उक्त विश्वविद्यालयमा शतप्रतिशत छात्रवृति अध्ययन गर्ने सुविधा पाएका थिए ।
कृषि प्रधान मूलुक नेपाललाई व्यवसायिक र आधुनिक कृषिमा सहयोग पुर्याउने हेतुले छात्रवृति प्रदान गरिएको उक्त विश्वविद्यालयका प्राध्यापक काफ्लेले बताउनु भयो । नेपालका २६ जना भारतका ५ जना इन्डोनेशियाका २ जनाले छात्रवृति पाई अध्ययनरत रहेका मध्ये ३२ जनाले स्नातक तह पुरागरी स्नाकोत्तर तहमा पनि छात्रवृतिको सुविधापाई अध्ययन गर्न पाउने भएका काफ्लेले जानकारी दिनुभयो ।
पछिल्लो समय ताइवानले नेपाली विद्यार्थीहरूलाई बिभिन्न खोज तथा अनुसन्धानका लागि छात्रवृति प्रदान गर्दै आइरहेकोले नेपाली विद्यार्थीहरूले छात्रवृति मार्फत उच्च शिक्षाको अवसर लिन सक्ने र आफुले सक्दो सहयोग पुर्याउने शम्भु केसीले बताउनु भयो ।
