व्यावसायिक गाँजा खेतीको आर्थिक र समाजिक प्रभाव
डा. दिलनाथ दंगाल । २६ जेठ, काठमाडौं : आजसम्म पनि प्रतिबन्धित रहेको गाँजा खेतीलाई आर्थिक वर्ष २०८१/०८२ को बजेटमा अर्थमन्त्रीले गाँजा खेतीलाई औषधी प्रयोजनकालागि व्यावसायिक उत्पादनसुरु गर्ने भनी उल्लेख गरेको र यसकालागि एक महिनाभित्र नै कानुन बनाएर उत्पादन सूरुगर्ने भनी सरकारले तयारी थालेको सन्दर्भमा आर्थिक, स्वास्थ्य, सामाजिक र कानुनी दृष्टीकोण गरी चारओटा कोणबाट नेपालमा गाँजा खेतीको व्यावसायिक उत्पादनका बारेमा विश्लेषण अघि बढ्नुपर्छ ।
नेपालमा गाँजा खेती र पर्यटन आगमनको बीचमा गहिरो सम्वन्ध भेटिन्छ । यसको इतिहासलाई हेर्ने हो भने पर्यटक आउने चलन सन् १९६० को दशकमा गाँजा खाने संस्कृतिबाट विकास भएको पाईन्छ ।
यसले के देखाउछ भने यदि कानुन बलियो बनाएर गाँजा खेती गर्ने हो भने नेपालमा पर्यटन आगमनमा पनि यसले सकारात्मक प्रभाव पार्ने प्रष्ट छ । हामीकहाँ २०३३ सालभन्दा अगाडि गाँजा प्रतिबन्धित थिएन भने २०३३ सालपछि यसको खेती र बिक्रीलाई गैरकानुनी बनाइयो । तर हाल विभिन्न औषधीका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि र त्यो बेलामा नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने तथा अन्य विश्वका ६० मुलुकहरुले अहिले प्रतिबन्ध हटाइसकेको अवस्थामा साथै अमेरिकाले गाँजा खेती खुल्ला गरेपछि अन्य देशले विरोध गरेर खासै फरक नपर्ने हुनाले नेपालमा गाँजाको खेती र कारोबार खुला गर्नुपर्छ भन्ने बहस सुरु हुनु स्वाभाविक थियो र केहि वर्षको वहस पछि अब भने कानुन नै बनाएर यसको ब्यवसायिक खेती हुने कुरा राम्रो पक्ष हो । साथै कानुन नै बनाएर यसको व्यावसायिक खेती हुन थाले पछि विगतमा गाँजाको ओसार पसारको कसुर लागेर आज सम्म जेलमा बसी रहेको दसौं हजार नारिकका बारेमा के हुने? पनि कानुनमा प्रस्ट आउनु पर्छ ।
कृषिबाटनै हामीले हाम्रो अर्थतन्त्रलाई मजबुद र आत्मनिर्भर बनाउने उद्देश्य लिएको सन्दर्भमा मूला, काउली र वन्दा उत्पादन गरेर मात्र आर्थिक समृद्धि प्राप्त नहुने हुनाले यसकालागि हामीसँग जे छ त्यही बेच्ने वा त्यसको सदुपयोग गर्ने हो । अहिले हामीसँग बाटोघाटो नभएको तथा विकट स्थानका ऐलानी जग्गा, खोलाको बगर, भिरपाखा जस्ता जग्गामा वैधानिक रूपमा यसको खेती गरेर उत्पादन बढाउने अपार सम्भावना छ । यो ४ देखि ५ महिनामा उत्पादन दिन योग्य हुने हुनाले र विश्वमा यसको माग बढीरहेको सन्दर्भमा नेपालमा यसलाई लामो समयसम्म प्रतिवन्ध लगाईरहने हो भने अन्य देशहरुले नेपालसँग रहेको परम्परागत ज्ञानको ‘पेटेन्ट राइट्स’ समेत खोस्नेछन् र गाँजाको प्रयोगबाट गरिने नेपाली उपचार पद्धति हामीले सधैँका लागि गुमाउने छौँ ।
औद्योगिक फाइबर, तेल, खाना, बीज, मनोरञ्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा प्रयोग हुने गाँजा खेतीले कानुनी मान्यता पाएमा बहुसंख्यक किसानहरुको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने र विश्वमा खर्बौंको कारोबार हुने गाँजाको सानो अंश मात्र नेपालले लिन सके नेपाली अर्थतन्त्रमा ठूलो योगदान रहने दाबी गरिएको छ । विश्व बजारमा कालो सुन भनेर चिनिने यो वनस्पतिको उच्च कोटीको तेल अत्यन्तै महङ्गो मूल्यमा बिक्री हुन्छ । नेपालको गाँजा विश्व बजारमा उत्कृष्ट मानिने हुनाले यसकोे प्रयोग गर्न विश्वका मानिसहरु लालायित हुन्छन् । नेपालमा अहिले पनि गाँजाको व्यापार र प्रयोग भएतापनि अर्थतन्त्रमा यसको योगदान देखिएन, राजस्व उठेन तर यसलाई वैधानिक गर्ने हो भने अर्थतन्त्र औपचारिक हुन्छ । यसको अनुसन्धानकालागि विश्वमा खर्बौं डलर खर्च भइरहेको छ । हामीले पनि कानुन बन्नासाथ यसको अध्ययन अनुसन्धानमा लागी एउटा नतिजामा पुग्नुपर्ने देखिन्छ ।
नेपालका सन्दर्भमा जहाँ मान्छे त्यहाँ गाँजा हुने भएकाले पनि यहाँको गाँजामा विविधता छ भन्ने कुरा प्रमाणित हुन्छ । कुन ठाउँमा कुन गुणस्तरको गाँजा हुन्छ, कुनमा लठ्याउने गुण बढी हुन्छ, कुनमा कम हुन्छ, कुनमा रेशा बढी छ ? खोजौँ । खाडीमा गएका नेपाली युवाहरुको परिवार विखन्डन भएका उदाहरणहरु हामी सामु छ । तसर्थ त्यहाँ गएर ५० डिग्रीको घाममा काम गर्नु भन्दा गाँजा खेती गरेर देशमा नै बस्नु उपयुक्त हुन्छ । यो खेती पूर्ण श्रममा आधारित भएको हुनाले धेरै ग्रामीण भेगका सीमान्तकृत नेपालीले रोजगार प्राप्त गर्नेछन् । अमेरिका, बेलायत जस्ता पश्चिमा मुलुकले के भन्छन् भन्दा पनि हामीलाई के कुराको आवश्यकता छ भन्नुपर्ने बेला हो यो । हामीले यसको धेरैभन्दा धेरै उत्पादन गरी विश्व बजारमा पु-याएर विश्व्यापीकरणको फाइदा लिन सक्छौं ।
गाँजा पूर्वी एसियामा उत्पत्ति भएको विश्वास गरिने र आयुर्वेदमा विजय भनेर चिनिने फूल फुल्ने विरुवा हो । हाम्रो शरीरमा भएका धेरै तत्व यसमा पाइने र ४०० भन्दा बढी रोगको औषधी बनाउन यो प्रयोगमा आउने बताइएको छ ।
समान्यतया गाँजाको खेती भएको ठाउँमा अन्य बालीमा पनि किरा लाग्दैन । यसको रेशाबाट महँगो कपडा बन्छ र त्यसको प्रयोगले छालाको रोग लाग्दैन । यसको सही प्रयोगले मानिस शान्त भएर बस्ने तथा अल्जाइमर्स, क्यान्सर, पेटका समस्या, अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, दुखाइ, मानसिक रोग जस्ता समस्यामा उपयोगी रहेको तथ्याङ्कले देखाउछ । गाउँघरमा किसानले गाईगोठसँग गाँजाखेती गर्ने र वस्तुभाउले छेरेमा, पेट फुलेमा वा अन्य पेटका समस्या भएमा, खाना नरुचाएमा गाँजालाई औषधीको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । ओमेगा तत्व पाइने गाँजा शरीरका लागि अति नै उपयोगीसिद्ध भएको छ । हामीले गाँजा भन्ने वित्तिकै धुवाँलिने वा गँजेडी बन्ने बुझाइ रह्यो तर त्यसो मात्र पनि होइन ।
सयौँ वर्ष अगाडिबाट हाम्रा ऋषिमुनिहरुले प्रयोग गर्दै आएको गाँजाको माथि उल्लेख्य धेरै फाइदा हुँदाहुँदै पनि यसलाई आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्न दिनु हुँदैन । यसरी जथाभावी रूपमा गाँजा खेती तथा यसको सेवनलाई नियन्त्रण गरिएन वा झोलामा हालेर बिक्रीवितरण गर्ने अवस्थाको सिर्जना भयो भने युवाहरू लागूऔषधको कुलतमा फस्ने खतरा बढेर जान्छ । सुरुमा गाँजा सेवन गर्ने युवाहरू पछि त्यो नपाउँदा अफिम, ब्राउन सुगर आदि प्रतिबन्धित औषधितर्फ आकर्षित हुने तथ्याङ्कहरु प्रशस्तै देखिन्छन् । त्यही भएर यसको विपक्षमा तर्क गर्नेहरुले २०३३ सालभन्दा अगाडि गाँजा प्रतिवन्धित नहुँदा पनि हामी संसारको धनी देश थिएनौं र गाँजा सहज हुने कानून बनाउँदा लागूऔषध दुर्व्यसनी बढ्ने र आतंकवाद, संगठित अपराध जस्ता अपराधले प्रश्रय पाउने बताईरहदा यो विषयमा पनि सोच्नु चाहिँ पर्छ । तसर्थ, यसको खेती र कारोवार व्यक्तिले भन्दा लाइसेन्स प्राप्त सहकारीमार्फत निश्चित तोकिएको स्थानमा गर्नुपर्छ । २१ वर्ष भन्दामाथिको उमेरकाले डाक्टरको प्रिस्क्रिप्सन लिएर मात्र उपभोग गर्न पाउने, कानुन उलङ्घन गरेमा कैद र नगद जरिवाना जस्ता प्रावधान राख्नुपर्छ । गाँजा उत्पादन गर्ने नाउमा गजेडी उत्पादन हुन दिनु हुँदैन । नियमन र नियन्त्रण गर्ने चुस्त कानुनी व्यवस्था र कानुन कार्यान्वयन गर्ने प्रभावकारी राज्य संयन्त्र बनाइएन भने नेपाल अन्तर्राष्ट्रिय ड्रग्स माफियाको केन्द्र बन्न सक्छ । थोरै दुःखमा धेरै आम्दानी हुने क्षेत्रमा माफियाहरुको चलखेल बढी हुने गर्छ ।
हामीले मनन् गर्नुपर्ने कुरा के पनि छ भने गाँजा खेतीबाट माथि उल्लेख गरेजस्तै अर्थतन्त्रमा ठूलै योगदान पुग्ने हो भने सियो, गुन्द्रुक, तुथपिक जस्ता वस्तु बनाएर निर्यात गर्ने चीन र हरित कृषिको नारा दिने भारतले किन यो खेती गरेनन् भनेर पनि एकपटक अध्ययन र अनुसन्धान गर्नुपर्छ । उनीहरुले यो खेतीलाई खुला नगरेर हामीले मात्र खुला गर्दा र कानुन फितलो हुँदा आतङ्कवाद, सङ्गठित अपराध, कालोधन जस्ता अपराधको एक्लै सामना गर्नुपर्ने अवस्था आउनसक्छ ।
गाँजा खेतीबाट प्रशस्त लाभ लिइरहेका अमेरिकादेखि अन्य धेरै देशहरुमा माफियाहरूकै सिन्डिकेट छ । यहाँ पनि निश्चित समूहले लाइसेन्स पाएर ड्रग्स सिन्डिकेट खडा हुने जोखिम हुँदैन भन्न सकिदैन । हाल नेपालका डाँडापाखा, वनजङ्गल, खोलाको बगर र खेतबारीमा आफैँ उम्रिने गाँजाले कानुन व्यवस्थालाई चुनौतीपूर्ण बनाएका बेला यसको खेती नै हुन थालेपछि कानुनले बाँध्न सकेनौ भने चुनौती अकल्पनीय हुनसक्छ । गाँजा केका लागि खुला गर्ने भन्ने प्रश्नको उत्तर प्रष्ट हुनुपर्छ । यसको गलत प्रयोगबाट हाम्रा युवाहरुलाई जोगाउन जनचेतनामूलक शिक्षा एउटा समाधान हुनसक्छ । यी अवस्थाहरु पूरा गरेर उत्पादन, बिक्री वितरणमा सीमान्तकृत जनताको पहुँच हुनेगरी लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजाखेती थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ । तर हचुवाका भरमा हामी अगाडि बढ्यौं भने फेरि यसलाई प्रतिबन्ध लगाउन अर्को दस वर्ष सङ्घर्ष गर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ यी तथ्यहरुलाई हेर्दा गाँजा खेती र ओसारपसार स्वास्थ्य र आर्थिक दृष्टिकोणबाट बरदान हो भने कानुन बलियो भएन र यसको उत्पादन, ओसारपसारमा ध्यान पुर्याउन सकिएन भने सामाजिक र कानुनी दृष्टिकोणबाट अभिसाप हुनेछ ।
(लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)