मानन्धर ‘देवकोटा लु–सुन प्रज्ञा पुरस्कार’बाट सम्मानित
काठमाडौँ, ९ भदौ : प्रगतिवादी साहित्यकार शान्तदास मानन्धर ‘देवकोटा लु–सुन प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार मानन्धरलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सम्मान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको छ ।
नेपाली बाल साहित्यको विकास र समुत्थानमा विशिष्ट योगदान पु¥याएबापत मानन्धरलाई सो सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सो अवसरमा मन्त्री अधिकारीले साहित्यकार मानन्धरलाई आफूले सरल लेखक र सहज अनुवादकका रुपमा चिनेको बताउनुभयो ।
समाजवादको उद्देश्य भनेको जनताको समृद्धि भएको बताउँदै उहाँले अबको साहित्यिक यात्रा समृद्धितर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो । कला, संस्कृति र साहित्यको कसरी विकास र उत्थान गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको समेत उल्लेख गर्नुभयो ।
सम्मानित व्यक्तित्व मानन्धरले आफूले निष्ठा र आस्थाका साथ सिर्जनात्मक लेखन र अनुवाद कर्मलाई अगाडि बढाएको बताउनुभयो । बालबालिकामा बाल साहित्यको पहुँच र विस्तार प¥याउन विद्यालय–विद्यालय पुगेर पठन संस्कृतिका पक्षमा लामो समयसम्म वकालत गर्नुभएको मानन्धरको ‘बालकोसेली’ बालबालिका माझ लोकप्रिय छ ।
सो अवसरमा साहित्यकार प्रा डा चूडामणि बन्धुले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक चिन्तन र वैचारिक विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा महाकवि देवकोटाको सामाजिक पृष्ठभूमि, नेपाली साहित्यमा उहाँको योगदान, साहित्यिक मान्यता, वैचारिक विकास, जीवनको पूर्वाद्र्ध, उत्तराद्र्ध कालका रचनाका बारेमा विस्तृतरुपमा चर्चा गरिएको छ ।
नेपालका साहित्यकारको अग्रसरतामा नेपाली साहित्यका महाकवि देवकोटाको योगदान र चिनियाँ साहित्यमा लु–सुनको योगदानलाई नेपाल र चीन दुवै देशमा उत्तिकै महत्वका साथ प्रचारप्रसार गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको स्थापना गरिएको हो ।
लु–सुन छिमेकी देश चीनका आधुनिक र प्रगतिशील साहित्यका जनक मानिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले लु सुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमान्डर मानेका छन् । चीनका गोर्की भनेर पनि चिनिने गरेका यिनको नाममा चीन सरकारले लु सुन साहित्य पुरस्कारसमेत स्थापना गरेको छ ।
