वरिष्ठ पत्रकार राजन कार्कीको ‘ज्वालामुखीमाथि देश’ लोकार्पण
काठमाडौ । लेखक तथा वरिष्ठ पत्रकार राजन कार्कीद्वारा लिखित ‘ज्वालामुखीमाथिको देश’ कृति राजधानीमा आयोजित एक समारोह बिच लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि डा.सुरेन्द्र केसी, अतिथिहरु सीमाविद डाक्टर बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ कानुनविद गालव ढुंगाना, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, वरिष्ठ पत्रकार तथा कलाकार रामप्रसाद खनाल, शास्त्रदत्त पन्त, अवकाशप्राप्त जर्नेल प्रेमसिं बस्नेत तथा लेखक कार्कीलगायतले सामुहिक रुपमा ‘ज्वालामुखीमाथि देश’ पुस्तक विमोचन गर्नुभयो।
पुस्तकको विषयमा चर्चा गर्दे राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले गएको ३० वर्षमा नेपालमा १८५ वटा राजनैतिक पार्टीहरु दर्ता भए, यही ३० वर्षमा भएका ३ हजार उद्योग तथा कल कारखाना बन्द भए, ६२ लाख युवायुवती विदेशीन बाध्य पारिएका छन्, देश परनिर्भर भएको छ, यही हो लेखक कार्कीको ज्वालामुखीमाथि देश भनेको भन्नुभयो।
लेखक कार्कीको पुस्तक माथी सीमाविद डाक्टर बुद्धिनारायण श्रेष्ठलगायत विभिन्न वक्ताहरुले समिक्षा गर्नुभएको थियो ।
पुराना राजनीतिकर्मी दीर्घराज प्रसाईंको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका विभिन्न तह र तप्काका प्रबुद्ध व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
रत्नसागर प्रकाशनद्वारा प्रकाशित उक्त कृति कार्कीको यो आठौं मौलिक कृति हो । सो कृतिमा करिब पाँच दर्जन सामयिक लेखहरू समेटिएको छ। कार्कीका विभिन्न बिषयमा लेखिएका आधा दर्जन अनूदित कृति प्रकाशित भैसकेका छन् ।