पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित भएपछि निर्वतमान अध्यक्षसमक्ष अध्यक्ष पदको शपथ लिँदै नवनिर्वाचित अध्यक्ष दामु अधिकारी । तस्बिर: कृष्ण दवाडी, लेखनाथ कास्की ।

कास्की, ७ असोज : पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको हो ।

आगामी दुई वर्षे कार्यकालको लागि सङ्घमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले एक हजार ४७८ मत प्राप्त गर्नुभयो भने लोकतान्त्रिकका प्रजुले एक हजार ४७१ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरामा व्यावसायिक वातावरण बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चलेको अधिवेशनबाट सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी बन्नुभएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, रुद्रप्रसाद लुर्इंटेल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा, रामेश्वर अधिकारी, कृतिवल्लव त्रिपाठी र बलराम आचार्य विजयी हुनुभयो । वस्तुगत सदस्यमा हरिराज पन्त, चिन्तामणि बास्तोला, तारानाथ ढुङ्गाना र श्रीप्रसाद घले विजयी बन्नुभयो । कर्पोरेट सदस्यमा हर्क अधिकारी र हरिहर सापकोटा तथा उद्योगतर्फको सदस्यमा सुरेशबहादुर श्रेष्ठ विजयी हुनुभयो ।

कूल तीन हजार ३७७ मतदाता रहेकोमा निर्वाचनमा दुई हजार ९८६ मत खसेको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.