भारतबाट नेपाल भित्रिए ८० मालवाहक गाडी

लुम्बिनी, ११ चैत : भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ । सूचना अधिकारी लम्सालले भन्नुभयो, “ एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारी साधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताउनुभयो ।

अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन् । ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो । उहांँले भन्नुभयो, “आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन् । केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन् ।”

कोभिड–१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ । सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन् । आज भने स्थलमार्ग हुँदै एक जनाले पनि वारपार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.