पेशागत मर्यादालाई ख्याल राख्न पत्रकारलाई आग्रह

प्रेस काउन्सिलको आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा भएको ‘आर्थिक पत्रकारिता र पत्रकार आचारसंहिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी । तस्वीर: अर्जुन भुसाल

काठमाडौँ, २७ माघ : आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारले पेशागत मर्यादालाई ख्याल गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । उनीहरुले आर्थिक प्रलोभनबाट बच्दै स्वच्छ र व्यावसायिक पत्रकारिता गर्न सो क्षेत्रमा कलम चलाउने पत्रकारलाई आग्रह गरे ।

प्रेस काउन्सिलको आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा भएको ‘आर्थिक पत्रकारिता र पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले पछिल्लो समय पत्रकारले समाचारसँग विज्ञापनको ‘बार्गेनिङ’ गर्ने क्रम बढेको भन्दै चिन्ता प्रकट गरे ।

अर्थविद् डा गोविन्दबहादुर थापाले आर्थिक पत्रकारितामा सुधार हुँदै आए पनि अझै समयसापेक्ष कलम चलाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले आर्थिक बिटभित्र थुप्रै क्षेत्र पर्ने भएकाले सबै क्षेत्रमा विज्ञता हासिल गर्नुपर्ने बताउनुभयो । “आर्थिक पत्रकारिताको दायरा निकै ठूलो छ”, उहाँले भन्नुभयो, “अर्थले हरेक क्षेत्रमा महत्व राख्ने हुँदा विषयवस्तुमा ज्ञान हासिल गर्दै रिपोर्टिङ गर्न जरुरी छ ।”

उहाँले आग्रहपूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म स्वतन्त्र पत्रकारिताको अभ्यास गर्न नसकिने तर्क गर्नुभयो । थापाले आर्थिक पत्रकारितासँग जोडिएको कृषि, सहकारी क्षेत्रलाई केन्द्रित गरेर ‘म्यागेजिन प्रकाशन गर्ने गरिएको बताउँदै बैंक फाइनान्स, उद्योग, वाणिज्य, ऊर्जालगायत विभिन्न क्षेत्रलाई मध्यनजर गर्दै छुट्टाछुट्टै मिडिया सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

काउन्सिलका सदस्य गोपाल बुढाथोकीले पत्रकारले आर्थिक क्षेत्रका महत्वपूर्ण विषयवस्तुलाई उठान गरे पनि ‘फलोअप’ पर्याप्त गर्न नसकेको बताउनुभयो । उहाँले पत्रकारले अभाव सहेर भए पनि आचारसंहिताको कार्यान्वयनमा ध्यान दिनुपर्ने भन्दै आचारसंहिताको पालना नगर्ने पत्रकारले समाजलाई योगदान दिननसक्ने टिप्पणी गर्नुभयो ।

अर्का सदस्य चेतनाथ धमलाले काउन्सिलमा सबैभन्दा धेरै आर्थिक बिटकै समाचारलाई लिएर उजुरी पर्ने गरेको बताउनुभयो । “पहिलोमा आर्थिक, दोस्रो चलचित्र, वैदेशिक रोजगार, पर्यटन क्षेत्रसँग सम्बन्धित समाचारलाई लिएर धेरै उजुरी पर्ने गरेका छन्”, विषयगत पत्रकारिता उपसमितिका संयोजकसमेत रहनुभएका उहाँले भन्नुभयो, “साहित्यसम्बन्धी विषयमा अहिलेसम्म कुनै उजुरी पर्ने गरेको पाइएको छैन ।”

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले समाचार लेखेर विज्ञापन र पैसाको बार्गेनिङ गरेको भन्ने विषयमा धेरै उजुरी परिरहेको भन्दै विज्ञापनलाई समाचार बनाएर प्रकाशित, प्रसारित गर्ने कार्यले पाठक र दर्शकमा अन्योल छाएको बताउनुभयो । उहाँले काउन्सिलले विभिन्न प्रकारका निर्देशिका तथा शैली निर्माण गर्न लागेको भन्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता वृद्धि गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कारोवार दैनिकका सम्पदक कुवेर चालिसेले आर्थिक क्षेत्रमा कलम चलाउने दक्ष पत्रकारको अभाव देखिएको बताउनुभयो । “समान्य जानकारीका भरमा सूचना प्रवाह गर्ने कार्य बढी भएको छ”, उहाँले भन्नुभयो, “समाचार बन्नका लागि गहिरो अध्ययनका साथै विषयवस्तुमा विज्ञता जरुरी पर्छ ।”

समाजका अध्यक्ष भीम गौतमले आर्थिक क्षेत्रमा कलम चलाउँदै समाजमा आबद्ध भएका पत्रकारका लागि छुट्टै आचारसंहितासमेत जारी गरिएको बताउनुभयो । उहाँले स्नातकतह उत्तीर्ण गरी पाँच वर्ष आर्थिक क्षेत्रमा कलम चलाएको व्यक्त सदस्य बन्न योग्य हुने जानकारी दिनुभयो ।

समाजका पूर्वअध्यक्ष गोकर्ण अवस्थीले सक्षम पत्रकार हुनका लागि ज्ञान, सीप र अध्ययन अपरिहार्य रहेको भन्दै पछिल्लो पुस्ताका पत्रकारमा अध्ययन गर्ने बानी कम हुँदै गएको बताउनुभयो । अर्का पूर्वअध्यक्ष विज्ञान अधिकारीले समाजमा आबद्ध पत्रकार ठूलाठूला भ्रष्टाचार र घोटलासम्बन्धी विषयवस्तुलाई बाहिर ल्याउने कार्यमा सक्रिय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.