चिनी उद्योगमा उखु नपुग्दा क्रसिङ प्रभावित

महोत्तरी, २१ माघ : क्रसिङका लागि पर्याप्त उखु नपुग्दा महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योग एक महिनाको अवधिमै तीन पटक बन्द भएको छ । गत पुस १३ गते यसपालिको क्रसिङ खोलिएको उद्योगमा उखुकै कमीले उद्योग बन्द गर्नुपरेको हो ।

“उद्योगको दैनिक ५० हजार क्विण्टल उखु पेल्ने (क्रसिङ) गर्ने क्षमता छ, तर उखु नपुग हुँदा अहिले ३५ देखि ४० हजार क्विण्टल मात्र पेलिँदै छ”, उद्योगका उखु प्रबन्धक युगलकिशोर चौरसियाले भन्नुभयो, “चलानपुर्जी दिइएका किसानले ठीक समयभित्र उखु नल्याई दिँदा यस पालि एक महिनाभित्रै तीन दिन उद्योग बन्द गर्नुप¥यो ।”

यसअघि कतिपय वर्ष वैशाख तेस्रो सातासम्म चल्ने गरेको उद्योग यस पालि फागुन २५ गतेभित्रै बन्द हुने उद्योग प्रशासनको भनाइ छ । उद्योगलाई चाहिने उखुको परिमाण अपुग हुने भएपछि यस पालि उद्योग चाँडै बन्द हुने आकलन गरिएको चौरसिया बताउनुहुन्छ ।

जिल्लाका किसान भने उद्योगले चलानी दिन निकै पर्खाउने गरेको बताउँछन् । “खै आफू त उद्योग नजीकको किसान हुँ, यसबीचमा बल्ल एकपटक चलान मात्र पाएको छु”, बर्दिवास नगरपालिका–८ हाथीलेटका किसान निर्मल तिमिल्सिनाले भन्नुभयो, “उखु कम हुने भएपछि बाहिरी अन्य जिल्लाको उखु तान्न हाम्रो पालो पछि पारेको जस्तो लाग्छ ।”

उद्योगले सामान्यतया माघ १५ पहिले खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु क्रसिङ सकेर त्यसयता मुडन (पहिलो वर्षको उत्पादन) कटानको चलान दिने गरेको किसान बताउँछन् । यसपालि अहिलेसम्म मुडनको चलान नपाइएको भङ्गाहा–४ का किसान शुभनारायण ठाकुरले बताउनुभयो । चलान पाएर समयमा उखु पु¥याउन नसक्नाको कारण ट्रक र ट्याक्टर (ढुवानी साधन) ठीक बेलामा नपाएर भएको किसान बताउँछन् ।

जिल्लामा पछिल्ला तीन वर्षयता उखुखेतीको क्षेत्रफल घट्दै आएको छ । विगतमा उद्योगले लामो समयसम्म भुक्तानी अल्झाएको हुँदा उखुखेती गर्न छाड्दै जाँदा उद्योग सञ्चालनमा उखुको अभाव हुने स्थिति बनेको किसान स्वीकार गर्छन् । “यसपालि जस्तै भुक्तानी दिँदै आएको भए उखुखेती बढ्दै जान्थ्यो”, बर्दिवास–१२ बिजलपुराका किसान भोलाइ महतोले भन्नुभयो, “अहिल भने उद्योगको आँखा खुलेजस्तो छ, गत वर्षको बाँकी रकम पनि दियो, यसपालिकै पनि १५ दिनभित्रै बुझाएको उखुको हाम्रो खातामा भुक्तानी पठाएको छ ।”

उद्योगले भुक्तानीमा यस पालि देखाएको तत्परता कायम राखेर आफूहरुलाई विश्वस्त बनाए फेरि उखु खेती बढ्ने जिल्लाका किसान बताउँछन् । जिल्लामा २०७४ सालमा १६ हजार ५०० र गत वर्ष ११ हजार बिघामा भएको उखुखेती यस पालि सात हजार ५०० बिघामा मात्र छ । उद्योगले पहिलो १५ दिनको भुक्तानीवापत रु २० करोड किसानको खातामा पठाइसकेको छ । यसबाहेक गत वर्ष उद्योगले दिनुपर्ने बाँकी रकम किसानलाई दिइसकिएको उखु प्रबन्धक चौरसियाले बताउनुभयो । अहिलेसम्म उद्योगले चालु यामको ३५ दिनमा १३ लाख क्विण्टल उखु पेलेर एक लाख क्विण्टलभन्दा बढी चिनी उत्पादन गरिसकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.