‘मैथिलीलाई जनभाषा बनाउनुपर्छ’
जनकपुरधाम, १७ भदौ : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मैथिली भाषालाई जनभाषा बनाउनुपर्ने धारणा राख्नुभएको छ ।
मैथिली साहित्यकार सभाको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँले अध्ययनका क्रममा आफूले मैथिली भाषामा सहजताको अभाव महसुश भएको चर्चा गर्दै यसलाई जनस्तरमा पु¥याउनु आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “सुनेको थिएँ मैथिली सरल हुन्छ तर स्नातकमा मैथिली अध्ययन गर्दा गाह्रो लाग्यो ।”
इतिहासलाई जीवन्त राख्न सबैको अग्रसरता आवश्कय भएमा भन्दै मन्त्री साहले आफू १ देखि ७ कक्षासम्म अनिवार्यरूपले मैथिली भाषाको पढाइको अवधारणालाई कार्यान्वयन गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।
साहित्यकार डा राजेन्द्र विमल प्रदेश सरकारद्वारा मैथिलीको धरातलीय यथार्थलाई मनन गर्दै समृद्धमूलक कार्य गर्नु अपरिहार्य रहेको छ भन्नुभयो । वरिष्ठ पत्रकार राजेश्वर नेपाली मैथिली भाषाको अस्तित्वमाथि प्रहार हुने गतिविधि रोक्नु जरूरी भएको बताउनुभयो । साहित्यकारहरू महेन्दकुमार मिश्र र दिगम्बर झा दिनमणि, पूर्वप्रजिअ जीवछ मिश्र, प्राध्यापक डा आशा सिन्हा, समाजसेवी प्रकाशचन्द्र साह र गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले प्रदेश सरकार मैथिली भाषाप्रति उदासीन हुुनु चिन्ताको विषय भएको धारणा राख्नुभयो ।
सभाका सभापाल जनार्दनलाल दासको अध्यक्षतामा भएको सो कार्यक्रममा कलाकारहरू नवीनकुुमार मिश्र, सङ्गीता देव, वीरेन्द्र झा, शम्भु कर्ण र ललन झालाई कला सम्मान प्रदान गरियो भने शान्तिदेवीलाई गार्गी, उपेन्द्रभगत नागवंशीलाई भाषा अभियानी, नरेश ठाकुुरलाई मञ्चीय शिखर र हसमुखीलाई बाल स्रष्टाले सम्मान गरियो ।
