पुडासैनीको कविता सङ्ग्रह ‘सिमानाको सालिक’ लोकापर्ण

काठमाडौँ, १६ भदौ : गीता पुडासैनीको कविता सङ्ग्रह ‘सिमानाको सालिक’  सार्वजनिक गरिएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठान र बुक्सेलरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा विन्दु शर्मा र समीक्षक महेश पौड्यालले संयुक्त रुपमा सो सङ्ग्रहको लोकापर्ण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष श्यामलले पुडासैनीले कवितामार्फत समाजमा भएका नराम्रा घटना र विद्रोहचेतलाई उजगार गरेको बताउनुभयो । आजकल कवि बन्ने रहरमा धेरैले शब्दको मर्म नबुझी कविता लेख्ने गरेको भन्दै उहाँले पाठकलाई प्रभाव पार्ने किसिमले मौलिक कविता लेख्नुपर्नेमा जोड दिनुभयो ।

‘‘चिन्तन, विकास र अनुभवलाई समेटर कविले सामान्य रुपमा कविता लेखेका हुन्छन्’’ श्यामलले भन्नुभयो, ‘‘तर भावना र मिहिनेत गरेर आफूलाई हिँडाउन सक्ने र समाजलाई चेतना दिनसक्ने कालको कविता लेख्नमा बढी ध्यान दिनुपर्छ ।’’

डा शर्माले कवयत्रीले समाजमा देखिएका उत्पीडित, विभेद्का बारेमा कवितामा चित्रण गर्नुभएको बताउनुभयो । उहाँले पछिल्लो समयमा समानान्तर रुपमा पुरुष लेखकसँगै गुणात्मक तरिकाले महिला लेखकले साहित्य सिर्जना गरेको चर्चा गर्नुभयो ।

समालोचक पौड्यालले लेखकले कवितामा नयाँ कुरा र विम्बको प्रयोग गरेर कविता लेखेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा लेखिका पुडासैनीले २०७० साल पछि आफूले समाजमा देखेका भोगेका कुरालाई आधार बनाएर कविता लेखेको बताउनुभयो ।

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कवितामा ‘सगरमाथाको सम्बोधन’, ‘आइमाई, आमा र पत्नी’, ‘सिमानाको सालिक’ ‘प्रयोगशालाबाट फर्कदा’, ‘बधशाला र फूलहरुको मृत्यु’ ‘विस्थापित जिन्दगी’ लगायत ३० वटा कविता छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.