कर नतिर्ने व्यवसायीको जग्गा रोक्का गरेर राजश्व उठाइने

हेटौँडा, २५ असार : आन्तरिक राजश्व कार्यालयले लामो समयदेखि कर/राजश्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो ।

पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताउनुभयो ।

उक्त कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजश्व छली गरेको आरोपमा जरिवानासहित राजश्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको जनाइएको छ ।

प्राप्त विवरणअनुसार चालू आवको जेठ महीनासम्ममा उक्त कार्यालयबाट तीन हजार २०३ व्यवसायीले लेखा नम्बर, तीन हजार ६९९ ले स्थायी लेखा नम्बर, ४३७ ले मूल्य अभिवृद्धि कर(भ्याट) नम्बर, एक हजार ३५५ ले अन्तःशुल्क नम्बर लिएकोे बताइएको छ ।

कार्यालय प्रमुख ढकालका अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ७१ करोड १३ लाख ६८ हजार राजश्व सङ्कलन भएको र सो रकम लक्ष्यभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.