वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समीक्षा
काठमाडौँ, ९ असार : अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा चालू आर्थिक वर्ष २०७५/७६ को वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन सम्बन्धमा समीक्षा बैठक सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री डा खतिवडाले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आगामी दिनमा समयमै यथार्थ प्रतिवेदन उपलब्ध हुने जानकारी गराउनुभएको थियो । साथै उहाँले खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्नसमेत निर्देशन दिनुभयो ।
वैदेशिक सहायतातर्फ चालू आव २०७५/७६ को जेठ मसान्तसम्म उत्साहजनक रुपमा रु ६३ अर्ब सोधभर्ना प्राप्त भए तापनि अझै रु ४३ अर्ब सोधभर्ना हुन बाँकी रहेकाले सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको छ । मन्त्री डा खतिवडाले मन्त्रालय तथा सम्बन्धित निकायले यथाशीघ्र सोधभर्ना प्राप्तितर्फ पहल गर्न आग्रह गर्नुभयो । साथै उहाँले चालू आवमा सम्पन्न भएका कामको भुक्तानी शीघ्र गर्न निर्देशन दिनुभएको थियो ।
वैदेशिक सहायतामा सञ्चालित आयोजनासँग सम्बन्धित मन्त्रालय र निकायहरुका सचिव, सहसचिव तथा आयोजना प्रमुखको उपस्थिति रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव तथा प्रतिनिधिले वैदेशिक सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयनका क्रममा भोगेका समस्या र सोधभर्नाको अवस्थाका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालू आवको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
