रसुवा एकीकृत भन्सारको शिलान्यास

रसुवा, ३१ जेठ : उत्तरी नाकामा निर्माण हुने एकीकृत भन्सार कार्यालयको अर्थमन्त्री डा युवराज खतिवडाले आज एक कार्यक्रमबीच रसुवागढीमा शिलान्यास गर्नुभएको छ । भवन शिलान्यासपश्चात् उहाँले नाकाको व्यवस्थापन र भन्सारको सुढृढीकरण अभियान कार्यमा सहयोग गर्न सम्वद्ध सबै पक्षसँग आग्रह गर्नुभयो ।

नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्वि गर्न रसुवागढी क्षेत्र व्यवस्थित र मर्यादित बनाउन वर्तमान सरकारले संरचना निर्माणको कामलाई तिव्रता दिएको डा खतिवडाले बताउनुभयो । उहाँले नाकाको व्यवस्थापन गर्न बजेटको अभाव नहुने बताउनुभयो ।

रसुवागढी नाका दिर्घकालीन रूपले व्यवस्थापन गर्न सडक, रेलको साथसाथै टनेलसमेतको अवधारणा ल्याइएको र वेत्रावती स्याफ्रुबँेसी खण्डको सडक सुधार एवं कालोपत्रे छिटो सम्पन्न हुने तथा स्याफ्रुबेँसी–मैलुङ खण्डको भू–भागमा टनेल निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

रु ५४ करोड ६० लाखको लागतमा निर्माण हुन लागेको उक्त एकीकृत भवनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, बैंक र सुरक्षा निकायसमेत रहने गरी पाँच तले भवन निर्माण गरिने प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । मन्त्री खतिवडाले आजै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी कार्य प्रगतिबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.