‘समृद्धिका लागि मानव पूँजीमा लगानी आवश्यक’

काठमाडौँ, २२ जेठ : राष्ट्रको समृद्धिका लागि मानव पूँजीको विकासलाई महत्वपूर्ण अङ्गका रुपमा लिइ मानव शंसाधनमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

काठमाडौँमा आजदेखि शुरु भएको ‘भूटान–नेपाल, ह्युमन क्यापिटल फोरम’मा सहभागी विभिन्न देशका आर्थिक जानकारले मानव पूँजीलाई विशेष प्राथमिकतामा राखेर विकासका परियोजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

दिगो विकास लक्ष्यप्राप्त गर्न महत्वपूर्ण औजार मानिने मानव पूँजी बलियो नबनाई कुनै पनि मुलुक समृद्धिको मार्गमा जान सक्तैन भन्ने निष्कर्षसहित विश्व बैंकको ‘ह्युमन क्यापिटल परियोजना’ सञ्चालन गरेको छ । विश्व बैंकले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको सो परियोजना नेपाल र भूटानमा पनि शुरु गरेको छ ।

विश्व बैंकको नेपालस्थित देशीय व्यवस्थापक फारिस एच हदाद–जेरभोसले मावन पूँजी परिचालन सजिलो विषय नभएकाले सम्बन्धित राष्ट्रको स्पष्ट नीति र योजना आवश्यक रहेको बताउनुभयो । त्यसैका लागि परियोजनाले मानव पूँजीको वकालत गर्ने जनाइएको छ । विश्व बैंकले गत वर्षबाटै मात्रै उक्त परियोजना कार्यान्वयनमा ल्याएको थियो । पहिलोपटक आजदेखि काठमाडौँमा शुरु दुईदिने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले विकासका लागि मानव पूँजी अर्थपूर्ण साधन भएको उल्लेख गर्नुभयो । दिगो विकास लक्ष्य जोडिएका मानव पूँजीका लागि शीप, स्वास्थ्य, शिक्षा, उत्प्रेरणा र लगनशीलताको खाँचो रहेको औँल्याउँदै अर्थमन्त्री डा खतिवडाले प्रविधि र शारीरिक पूँजीको विकास गरी प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग हुनसके आर्थिक रणनीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा सीमित स्रोत साधनका कारण मानव पूँजीमा लगानी गर्न चुनौती रहेको स्वीकार्दै त्यसका बाबाजुद पनि सरकार उद्योग, पूर्वाधार, खानेपानी, सरसफाइ र कृषिमा लगानी गरेर गुणस्तर विकासतर्फ केन्द्रित रहेको तथा सामाजिक क्षेत्रमासमेत लगानी बढाउँदै गएको बताउनुभयो ।

सामाजिक र आर्थिक क्षेत्रको सन्तुलन कायम गर्न नसके अधिकतम लाभ लिन नसक्ने जिकिर गर्दै उहाँले शीपयुक्त मानिसलाई अवसरसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “नीति निर्माताले सन्तुलन गरेर मानव पूँजी वृद्धिमा नीति–नियम बनाउनुपर्छ, उनीहरुलाई आर्थिकरुपमा जोड्नुपर्छ, शीप, ज्ञान र विशेषज्ञताको प्रयोग गर्न सक्नुपर्छ, तबमात्रै गति लिन्छ”, अर्थमन्त्रीले भन्नुभयो । उहाँले अहिले सकारकारले खानेपानी, शिक्षा र स्वास्थ्यमा राम्रो बजेटको व्यवस्था गरेको जानकारी दिँदै एकातर्फ अनुदान दिने र अर्काेतर्फ कर उठाउने अवस्थामा विश्व बैंकले शुरु गरेको यो कार्यक्रमबाट नेपालले लिनसक्ने लाभका विषयमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो ।

विश्व बैंकको नेपालस्थित देशीय व्यवस्थापक फारिसले नेपाल र भूटानमा काम गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपालमा अर्थतन्त्रको विकास र परिवारका लागि बाबुआमाले मानव पूँजीरुपमा काम गरिरहेको बताउनुभयो । भूटानले भने सम्भाव्यता पत्ता लगाइ फाइदा लिइरहेको उहाँको भनाइ छ ।

दक्षिण एशिया क्षेत्रका विश्व बैंकका प्रमुख अर्थशास्त्री हन्स टिमरले नेपालसँग सहकार्य गरेर काम गर्न पाएकामा खुशी व्यक्त गर्दै मानव पूँजी निर्माणका लागि विशेष योजना बनाएर बालबालिकामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा नेपालको अवस्था गरीबीको चपेटामा रहे पनि अहिले धेरै परिवर्तन आएको उल्लेख गर्दै उहाँले नेपाल र भूटानको शैक्षिक विकासमा सहकार्य गर्न विश्व बैंक तयार रहेको उल्लेख गर्नुभयो । यसका लागि चाहिने केही सिद्धान्तलाई अनुशरण गर्नसके अवसर धेरै रहेको उहाँको भनाइ थियो ।

सम्मेलनमा भूटानका अर्थसचिव नीम दोर्जीले विश्व बैंकले गरीबी कम गर्न शुरु गरेको ‘ह्युमन क्यापिटल परियोजना’ विश्वकै लागि नयाँ अभ्यास भएको उल्लेख गर्दै कार्यक्रमप्रति भूटान उत्सुक रहेको बताउनुभयो । मानव पूँजीका क्षेत्रमा भूटान लगानी गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले जनताको खुशीका लागि लक्ष्य भेट्न यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्व बैंकका अनुसार परियोजनाको उद्देश्य सम्बन्धित देशले अत्यधिक गरीबी कम गर्न सहयोग मिलोस्, ती देशले मानव पूँजी निर्माणमा उच्च रणनीति लियोस् तथा गुणस्तर सुधार गरी सरोकारवाला भित्र्याएर मानव पूँजी निर्माणमा सघाउ पुगोस् भन्ने रहेको छ । साथै कुनकुन क्षेत्रमा के आवश्यक छ भनेर पहिचान गरी लगानी भित्र्याउनसमेत परियोजना सहयोगी बन्ने बताइएको छ ।

देशले उद्योग, पूर्वाधार विकासमा समेत मानव पूँजीको अवश्यकता हुन्छ भन्ने विषय बिर्सन हुँदैन भन्ने उदेश्यका परियोजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । विश्व बैंकका अनुसार व्यक्तिमा लगानी गर्नुपर्छ । योग्य व्यक्ति हुन सकेन भने विकासमा समेत असर पर्छ । देशलाई विकास गर्नु छ भने सीप, शिक्षा, स्वास्थ्य र रोजगार लगायतका क्षेत्रमा समेत लगानी गर्नुपर्छ भनेर चेतना फैलाउनसमेत कार्यक्रम सहयोगी हुनेछ ।

सम्मेलनमा नेपाल र भूटानका आर्थिक क्षेत्रका जानकार, सरकारी अधिकारी, नीति निर्माणमा सहभागी अधिकारीसहित २०० प्रतिनिधि सहभागी छन् । विभिन्न मापनका आधारमा बनाइएको मानव पूँजीको इन्डेक्समा नेपाल ४९औँ स्थानमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.