राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी शुरु

काठमाडौँ, २२ : स्वदेशी वस्तुको उत्पादन बढाउँदै रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ आजदेखि शुरु भएको छ ।

उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा भएको मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यामबाट क्रेता र बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गरिने छ ।

राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

सतहत्तरवटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीको सहभागिता रहेको यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनको छुट्टै मण्डप रहेको छ । मेलामा महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने छ ।

मेलाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो । नेपाली उत्पादनको ‘ब्राण्डिङ’ गर्दै साना पूँजीबाट उत्पादन शुरु गरेका उद्योगीलाई पनि समेटेर लैजानुपर्ने बताउँदै मन्त्री यादवले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै विश्वबजारमा पु¥याउन सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्री युवराज खतिवडाले स्वदेशमा उत्पादित वस्तुको संरक्षण र प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७६÷७७ को बजेटले विशेष व्यवस्था गरेको बताउनुभयो । सरकारले स्वदेशमा उत्पादित वस्तुको स्वदेशमै खपत गर्नुपर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले नेपाली उत्पादनको प्रयोग गरेर गौरव गर्ने वातावरण सिर्जना गर्नका लागि गुणस्तरीय उत्पादनमा जोड दिनुभयो ।

लघु घरेलु तथा साना उद्योगका उत्पादनका २०० बिक्री तथा प्रदर्शनी कक्ष रहेको सो मेला यही जेठ २६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.