प्रादेशिक औद्योगिक क्षेत्र निर्माण तीव्र

हेटौँडा, २ जेठ : हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्ररुपमा अगाडि बढाइएको छ ।

सरकारले चार वर्ष अगाडि हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप निर्माण कार्य शुरु भएको हो । हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १३५ हेक्टर जमीनमा निर्माण शुरु गरिएको र त्यसको वातावरण प्रभाव मूल्याङ्कनसमेत पूरा भएको छ ।

मन्त्रिपरिषद्ले २०७३ वैशाख १४ गते गरेको निर्णयअनुसार औद्योगिक क्षेत्र भोगाधिकार प्राप्त गरेलगत्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो । एक वर्ष अगाडि औद्योगिक क्षेत्र स्थापना डिपीआर तयार गर्न शुरु भएको हो ।

साविक चुरियामाई र पदमपोखरी गाविसबीच पर्ने मयुरधाप क्षेत्रको जमीनमा औद्योगिक क्षेत्रका लागि सर्भेको काम भइरहेको छ । औद्योगिक क्षेत्र स्थापनापछि मयुरधापमा काठमाडौँको बालाजु र पाटन औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठानसमेत हस्तान्तरण हुने बताइएको छ ।

औद्योगिक क्षेत्र परियोजनाका प्रमुख प्रकाश केसीले डिपिआर सकिएको र वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि परियोजनाको काम तीव्रगतिमा बढ्ने बताउनुभयो । सरकारले उद्योगको विकास र रोजगारी वृद्धिका लागि सातवटै प्रदेशमै औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।

उक्त औद्योगिक क्षेत्रको निर्माणमा रु सात अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ भने करीब १०० उद्योग स्थापना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.