साङ्घाई ग्रुपले सहमति कार्यान्वयन गरेन, दुई चिया बगानमा समस्या उस्तै   

इलाम, ३१ वैशाख : आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भए पनि इलामका दुई बगानका श्रमिक भने अझै काममा फर्किन सकेका छैनन् ।

साङ्घाई ग्रुपले भाडामा लिएको इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने साङ्घाईं ग्रुपले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन् । ती बगानमा चियापत्ती बाझिँसकेका कारण नयाँ श्रम ऐन २०७४ अनुसार ज्याला दिन नसकिने साङ्घाईं ग्रुपका अध्यक्ष सुवास साङ्घाईले बताउनुभयो । “मुख्य मौसमको चिया पूरै बाझिँसक्यो । अब कसरी हामीले चियाको ज्याला दिने ?” साङ्घाईले भन्नुभयो, “त्यसमा पनि श्रमिकले पूरा कामै गर्दैनन् । जम्मा छ घण्टा काम गर्नुपर्नेमा चार घण्टा मात्र काम गर्छन् । यही स्थितिमा पूरा ज्याला दिन सकिँदैन ।”

उहाँका अनुसार श्रमिकले बगानको नियमअनुसार काम नगरेकाले पूरा ज्याला दिन नसकिएको हो । श्रमिकले पूरा काम गरेमा भने पूरा ज्याला दिन सकिने साङ्घाईको भनाइ छ । अध्यक्ष भन्नुभयो, “आधा काम गरेर पूरा ज्याला माग्न पाइन्छ । पूरा काम गरेमा पूरै ज्याला दिन्छौँ ।”

यता चिया श्रमिक तथा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका जिल्ला अध्यक्ष रमेश खड्काले भने श्रमिकले पूरा काम गर्नका लागि बगानको व्यवस्थापन दरिलो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमिकले नियमअनुसार नै काम गर्छन् । तर साङ्घाई ग्रुपको व्यवस्थापन राम्रो हुनुपर्छ । व्यवस्थापन राम्रो नहुँदा त काम पूरा नहुन पनि सक्छ ।”

अन्य चिया बगानमा सहमति जुटेपछि यी बगानमा पनि सहमति हुने आश पलाएको अध्यक्ष खड्काको भनाइ छ । सरकारलेसमेत समन्वय गरिदिएकाले तत्काल सबै बगानमा ज्याला कार्यान्वयन नभए पनि विस्तारै समस्या सुल्झिने खड्काले बताउनुभयो । नयाँ श्रम ऐनअनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गएको चैत १७ देखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए ।

श्रमिकले नयाँ ऐनमा सुरक्षा योजनाअनुसार सात प्रतिशतको कोष निर्माण गर्नुपर्ने, श्रमिकलाई औषधि उपचारबापत रु २० हजार दिने, प्रसूति बिदा नयाँ ऐनअनुसार ४५ दिनबाट बढाएर ७० दिन बनाउने र लगातार काम गरेको १५ वर्षपछि पेन्सनको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने चिया श्रमिकको भनाइ छ ।

सरकारले श्रम ऐनअनुसार गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०० सम्म मात्र पाउँदै थिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार रु ४६९ र मङ्गी भत्ता रु चार हजार ३८१ तोकिएको छ तर यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन मजदूरले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.