होटल सङ्घको अध्यक्षमा अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणा
काठमाडौँ, २६ वैशाख : होटल सङ्घ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न सङ्घको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो ।यस्तै प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोदशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली सदस्यमा निर्वाचित हुनुभएको छ ।
पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा
कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।
होटल एशोसिएशन अफ नेपाल (हान) को ४६ औँ वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा उहाँले पर्यटकीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।
सरकारले घोषणा गरेको सन् २०२० नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन सरकार र निजी क्षेत्रको सक्रिय साझेदारिताका आधारमा प्रवद्र्धनका काम प्रभावकारी रुपमा अघि बढाइने उहाँको भनाइ थियो ।
कार्यबाहक प्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’का चाहनालाई सार्थक तुल्याउने महत्वपूर्ण माध्यम पनि पर्यटन नै हो, पर्यटनमा फड्को मार्न नीतिगत तथा संरचनागत सुधार गरेर अघि बढौँ, पर्यटनको विकासका लागि सडक यातायात र विमानस्थल विस्तार पहिलो प्राथमिकताका विषय हुन् ।”
उद्योग, पूर्वाधार विकास तथा पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रलाई प्रथामिकता दिएर ल्याइएको सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी बजेट कार्यक्रम तय हुने र त्यसमा आर्थिक समृद्धिको सम्भावना बोकेका पर्यटनलगायत क्षेत्रको विकासलाई विशेष महत्व दिइने उहाँले उल्लेख गर्नुृभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यले भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय गन्तब्यको प्रवद्र्धन, सेवा विविधिकरण तथा गुणस्तर अभिवृद्धि गरी राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको क्षमता बढाउने गरी व्यवस्थापकीय कार्य भइरहेको जानकारी दिनुभयो ।
हानका नवनिर्वाचित अध्यक्ष सिर्जना राणाले भ्रमण वर्षलाई सार्थक बनाउन सरकारसँग साभेदारिका साथ कार्यक्रम ल्याइने बताउनुभयो ।
