भृकुटीमण्डपमा बृहत् तीज व्यापार मेला शुरु

काठमाडौँ, ७ भदौ : महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बृहत् तीज व्यापार मेला शुरु भएको छ ।

महिला सिर्जनशील केन्द्रद्वारा आयोजित उक्त मेला यही भदौ १० गतेसम्म सञ्चालन हुनेछ । झन्डै २०० बिक्री तथा प्रदर्शनी कक्ष राखिएको सो मेलामा एक लाखले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाइको सुविधासमेत रहेको केन्द्रका अध्यक्ष मिरू थापाले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ओझेलमा परेका उद्यमी महिलाहरुलाई बजारमा ल्याउने र उहाँहरुबाट उत्पादित सामग्रीहरु उपभोक्तासम्म पु¥याउनका लागि यस्ता मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस प्रकारको मेला उपत्यका बाहिर पनि गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष मिरू थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताउँदै मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक सङ्घसंस्थालाई प्रदान गरिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.