मोबाइलबाट चिट चोरेको आरोपमा सात पक्राउ
सप्तरी, २५ चैत : सप्तरीमा मोबाइलबाटै चिट चोरेको आरोपमा सात जना एसइई परीक्षार्थी र एक शिक्षक आज पक्राउ परेका छन् ।
मोबाइलबाट उत्तर सारेको आरोपमा शम्भुनाथ नगरपालिकास्थित बुद्धिलाल विद्या मुनर मावि भगवतपुर बडहरी केन्द्रबाट परीक्षा दिइरहेको पाँच जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको केन्द्राध्यक्ष उमानाथ यादवले जानकारी दिनुभयो ।
केन्द्राध्यक्ष यादवका अनुसार उनीहरुको आजको परीक्षा रद्द भएको छ । बोदे बर्साइन नगरपालिकास्थित चन्द्र्रा मावि केन्द्र र विष्णुपुर गाउँपालिकास्थित जनता मावि मलेकपुर खुरहुरियाबाट एक÷एक परीक्षार्थी पक्राउ परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमेश दाहालले बताउनुभयो ।
मलेकपुर केन्द्रबाट पक्राउ परेका परीक्षार्थीको मोबाइल चेकजाँच गर्दा उनलाई इमोमार्फत मोबाइलबाटै उत्तर पठाउने एक निजी विद्यालयका गणितका शिक्षक मो. मुख्तारसमेत पक्राउ परेका छन् ।
मोबाइल प्रयोग गरी इमो, वाट्सअप, भाइबर र फेसबुक चाट म्यासेञ्जरको माध्यमबाट प्रश्नपत्र बाहिर पठाउने र सोही माध्यमबाट उत्तरहरु मगाउने गरिएको थियो ।
मोबाइलबाट चिट चोर्न सुविधा दिएको भन्दै यसअघि माध्यमिक शिक्षा परीक्षा समन्वय समिति सप्तरीले कमलेश्वरी किसुन झौलाई मावि बनरझुला केन्द्रका केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरी सात जनालाई शिक्षा ऐनअनुसार कारवाही गर्दै जिम्मेवारीबाट हटाएको थियो ।
