तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण सम्पन्न

राम केसी । चौतारा, १९ चैत : सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न भएको छ । भवनलगायत सम्पूर्ण संरचनासहित भोटेकोशी नदीमा निर्माण भएको पक्की पुलको ढलान पनि सम्पन्न भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेले जानकारी दिनुभयो ।

चिनियाँ रेलवे कन्सट्रक्सन कम्पनी सिआरसिटी फोटिन ब्यूरोद्वारा रु दुई अर्ब ३५ करोडमा एक वर्षअघि सो सुख्खा बन्दरगाह निर्माण कार्य शुरु भएको थियो । इन्टर मोडल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतका अनुसार आउँदो वर्षमा नेपाल सरकारलाई सो बन्दरगाह हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

पाँच सय रोपनी क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा भन्सार पशु तथा कुषि क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चमेनागृह, बंैक तथा आवासगृह छन् । त्यहाँ १५८ ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिने र ६० देखि १०० मेट्रिक टन सामान तौलने यन्त्रसमेत जडान गरिनेछ । त्यसैगरी २०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका खुलाउने सम्बन्धमा पनि तीव्रताका साथ काम भइरहेका छ ।

भूकम्पले क्षतिग्रस्त मितेरी पुलको निर्माण तीव्र गतिमा भइरहेका र बाह्रबिसे नगरपालिकाअन्तर्गत बसेरीदेखि सीमा पुलसम्मको १८ किलोमिटर सडकको निर्माण तथा मर्मत सम्पन्न भएको अध्यक्ष पौडेले जानकारी दिनुभयो ।

उक्त सडक खण्ड सधैँ पहिरो जाने ठाउँमा ढलान गरिएको र कालोपत्र भएको ठाउँमा सफाइ गरिएको छ । उक्त नाका पनि आगामी मे १ तारिखमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा अपूर्ति सचिव रविशङ्कर सैँजुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.