इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालय हस्तान्तरण

काठमाडौँको शङखरापुर नगरपालिका ८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र स्थापना गरिएको इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालय । जर्मनीको हर्ज फर किन्डर र नेपाल बाल सहायता सङघको रु एक करोडको सहयोगमा सो विद्यालय स्थापना भएको हो । तस्बिर कृष्ण अधिकारी

काठमाडौँ, ८ चैत : काठमाडौँको शङ्खरापुर नगरपालिका–८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालयको स्थापना गरिएको छ । जर्मनीको हर्ज फर किन्डर र नेपाल बाल सहायता सङ्घको रु एक करोडको सहयोगमा सो विद्यालय स्थापना भएको हो ।

जर्मनीकी प्रसिद्ध सेलिब्रिटी इन्काको नाममा स्थापना गरिएको सो विद्यालयको प्रदेशसभा सदस्य मणिराम फुयाँल र नेपाल बाल सहायता सङ्घका अध्यक्ष हाइकी कुन्जेले उद्घाटन गर्नुभयो । अत्याधुनिक सुविधा सम्पन्न यस किन्डरगार्टेनमा एउटा भान्छा कोठा, डाइनिङ कोठा, अभिभावक बस्ने कोठाको साथै मनोरञ्जन स्थल, स्वच्छ खानेपानीको सुविधा, विद्यालय हातामा तारबारको व्यवस्था र बालमैत्री शौचालयको निर्माण गरिएको छ । सो संस्थाको सहयोगमा यहाँ पढ्ने विद्यार्थीलाई निःशुल्करुपमा पोशाक र खानाको व्यवस्था पनि मिलाइएको छ ।

विद्यालय हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य फुयाँलले मन्टेश्वरीको स्थापनाले तामाङ समुदायको बाहूल्यता रहेको यस क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा दातृ संस्थाहरुको सहयोगको खाँचो रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष कुन्जेले नेपालका विभिन्न जिल्लामा रहेका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थाले भौतिक पूर्वाधार र शैक्षिक सामग्री उपलब्ध गराएको बताउनुभयो । सङ्घका उपाध्यक्षसमेत रहनुभएका नेपालका लागि जर्मनीका महावाणिज्यदूत रामप्रताप थापाले सो संस्थाको सहयोगमा सन् १९९२ देखि सोलुखुम्बु, काठमाडौँ, गोरखा, धादिङ, पाल्पालगायतका जिल्लामा सुविधा सम्पन्न विद्यालयको निर्माण गरी विपन्न एवं जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिनुभयो ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले गुणस्तरीय शिक्षाको अवसरबाट नगरभित्रका कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने अभियानमा नगरपालिका क्रियाशील रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का वडाध्यक्ष हीतमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घलानले विसं २०१९ मा निमाविको रुपमा स्थापना भएको यस विद्यालयले २०७१ सालदेखि माविमा स्तरोन्नति भई काठमाडौँ पूर्व क्षेत्रमा गुणस्तरीय शिक्षा दिन सफल भएको दाबी गर्नुभयो ।

हाल यस विद्यालयमा अध्ययनरत करीब २०० जना विद्यार्थीमध्ये ९९ प्रतिशत ५ प्रतिशत तामाङ समुदायका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.