व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा १० करोड बढीको कारोवार

काठमाडौँ, २५ फागुन : प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म रु १० करोड २५ लाख बराबरको कारोवार भएको छ ।

आजसम्म मेलामा एक लाख ८७ हजार जनाले सो मेलाको अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । महासङ्घको आयोजनामा बिहीबारदेखि शुरु भएको मेलामा बिहीबार २० हजार जनाले तथा शुक्रबार ५० हजार जनाले अवलोकन गर्नुका साथै रु चार करोडको कारोवार भएको थियो । आज एक लाख १७ हजार जनाले मेलाको अवलोकन गरेका थिए भने रु ६ करोडको कारोवार भएको महासङ्घले जनाएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्ब गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एक समारोहका बीच सो मेलाको उद्घाटन गर्नुभएको थियो । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेलाको नामबाट सञ्चालन भएको बताउनुभयो ।

नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्न मेला शुरु भएको हो । मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महाङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

महोत्सवको सह–आयोजक अर्गानिक एशोसियशन अफ नेपाल रहेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

पाँच दिनसम्म चल्ने सो मेलामा २०५ कक्ष, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग सञ्चालक सहभागी छन् । चीन, भारत र बङ्गलादेशका गरी ४५ अन्तर्राष्ट्रिय कक्षसमेत रहेका छन् । पाँच दिनको अवधिमा झण्डै चार लाख ५० हजार जनाले मेलाको अवलोकन गर्नुका साथै रु १५ करोडको कारोवार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.