सेवासुविधा, स्तरोन्नतिको माग
काठमाडौँ, २० फागुन : राहत तथा बालविकास शिक्षक केन्द्रीय समितिले सामुदायिक विद्यालयमा लामो समयदेखि राहत दरबन्दी र बालविकास केन्द्रमा क्रियाशील शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने माग गरेको छ ।
लामो समयदेखि देशभर कार्यरत त्यस्ता शिक्षकलाई दरबन्दीमा परिणत गरी सेवासुविधा र स्तरोन्नतिको वृद्धि गर्नुपर्ने समितिले माग गरेको हो । देशभरबाट आएका शिक्षक माइतीघर मण्डलामा भेला भई बालविकास केन्द्रमा शिक्षामा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी हटाउनुपर्ने, सम्पूर्ण बालविकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेलगायत माग गर्दै समितिले प्रदर्शन गरेको हो ।
समितिका अध्यक्ष खेमराज अधिकारीले शिक्षा ऐनमा त्यस्ता शिक्षकबारे विशेष व्यवस्था गरी सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । कक्षा १ देखि १० सम्म अध्यापन गराउने करीब ४० हजार राहत शिक्षक, कक्षा १ मा भर्ना हुनु अगाडिका बालबालिकालाई पढाउने ३६ हजार बालविकासका शिक्षक र कक्षा ११ देखि १२ सम्म पढाउने छ हजार शिक्षक उक्त आन्दोलनमा छन् ।
वैदेशिक सहयोग तथा कार्यक्रमबाट सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत त्यस्ता शिक्षकलाई सरकारले अनुदान मध्येबाट तलब उपलब्ध गराउँदै आएको बताइएको छ । उक्त कार्यक्रममा सहभागी शिक्षकले सेवासुविधा एवं स्तरोन्नतिको माग गर्दै बानेश्वरसम्म शान्तिपूर्ण पदयात्रासमेत गरेका थिए ।
