लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक सहायता नीति परिमार्जन गर्दैछाँै, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’’

अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पु¥याउने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिनुभयो । उहाँले प्रदेश र सङ्घका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताउनुभयो ।

उहाँले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको हो भन्नुभयो । प्रतिनिसभाको अर्काे बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.