सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ लाई सम्बोधन गर्दै उहाँले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न के गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताउनुभयो ।

सरकारले मुलुक समृद्धिका लागि मजबुत आधार तयार गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आर्थिक विकासका लागि स्पष्ट लक्ष्यका साथ हामी अघि बढेका छौँ, हाम्रो गन्तव्य भनेको समृद्ध नेपाल नै हो, विकास गरिछाड्ने सङ्कल्पमा हामी छौँ ।”

नेपालको संविधानले सबै नागरिकलाई अवसर, सुरक्षा, सम्मान र अधिकार प्रदान गरेको उल्लेख गर्दै उहाँले एक वर्षमा संविधानअनुसारका धेरै नयाँ कानून निर्माण गरेको बताउनुभयो ।

“नेपाल अब दुई ढुङ्गाबीचको तरुल होइन, दुई ठुला बजारबीचको अवसर बोकेको सम्पन्न राष्ट्र हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देश र समाजलाई आधुनिक बनाउन चाहन्छौँ । सरकार सुशासन र आर्थिक विकासको महाअभियानमा जुटेको बताउँदै उहाँले आधुनिक र विकसित नेपाल बनाउनमा आफ्नो चिन्तन रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधनपछि आयोजित समूहगत छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्यमशीलताको विकासका लागि केही विषयमा सरकारले विशेष निर्णय गर्नु आवश्यक रहेको बताउँदै नयाँ उद्यमीलाई प्रोत्साहन गर्न सेवा र सहुलियतको व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलले उद्यमशीलताको विकासका लागि समाजको हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनु आवश्यक रहेकामा जोड दिँदै आर्थिक समृद्धिका लागि ठूलो लगानीको आवश्यकता रहेको बताउनुभयो ।

सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले उद्योग व्यवसाय शुरु गर्दा आवश्यकपर्ने सरकारी दर्ता प्रक्रिया प्रोत्साहनभन्दा नियन्त्रणमुखी रहेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले उद्यमशीलतालाई उत्प्रेरणा दिने कुरामा सरकारी संरचना परम्परावादी रहेको बताउँदै स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक डा उपेन्द्र महतो, परिसङ्घका उपाध्यक्ष अनुज अग्रवाल, विशाल समूह प्रालिका अध्यक्ष डा राजेन्द्र केसीले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्यमीलाई अवसर प्रदान गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सम्मेलनमा मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

‘निजी क्षेत्रको सहकार्यबाट समृद्धि’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र निजी क्षेत्रको सहकार्यबाट मुलुकमा विकास तथा समृद्धि हुने बताउनुभएको छ । आज यहाँ आयोजित ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ कार्यक्रममा उहाँले सरकारले र निजी क्षेत्र दुवै एक अर्काको परिपूरक रहेकाले सरकारले संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा दुई तिहाइ बहुमतको सरकार गठन भएको र राजनीतिक स्थिरता कायम भएको भन्दै अध्यक्ष दाहालले ढुक्क भएर नेपालमा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गर्नुभयो । उहाँले स्वदेशमा रोजगार सिर्जना भएपछि श्रमका लागि विदेश गएका नेपाली फर्कने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री युवराज खतिवडाले लघु उद्यमी तथा कृषि व्यवसायीको जोखिम बहन गर्न सरकारले ८० प्रतिशत प्रिमियम तिर्ने गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले अबको उच्च शिक्षालाई उत्पादनसँग जोड्ने बताउँदै स्थानीय साधन र स्रोतको प्रयोग गरी स्वदेशमा रोजगारी सिर्जना गरिने बताउनुभयो । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री कानून बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.