‘नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो’
काठमाडौँ, २३ माघ : श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अरु देशको तुलनामा नेपालको श्रम सम्बन्ध एशियाकै राम्रो भएको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आयोजना गरेको ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयको गोष्ठीमा उहाँले अरु देशको तुलनामा नेपालको श्रम सम्बन्ध राम्रो भएको बताउनुभएको हो ।
सचिव दाहालले औद्योगिक सम्बन्ध राम्रो भए मात्र औद्योगिक शान्ति हुने, उत्पादकत्व वृद्धि हुने र श्रम विवाद कम हुने भएकाले श्रम सल्लाहकार समिति, न्यूनतम पारिश्रमिक निर्धारण बोर्ड, सामाजिक सुरक्षा कोषलगायतका संरचनामा ट्रेड युनियन र रोजगारदाताको त्रिपक्षीय प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो ।
ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले विदेशबाट पठाएको रेमिट्यान्सले देश सञ्चालन गर्नेभन्दा स्वदेशमै युवालाई रोजगारी दिनेतर्फ मुलुक अगाडि बढ्नुपर्ने बताउनुभयो । जापान अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अध्यक्ष हिरोयुकी नागुमोले नेपाललगायत विकासोन्मुख देशका ट्रेड युनियनको वृद्धि विकास, श्रमिक अधिकार, औद्योगिक सम्बन्ध र श्रमिकको जीवनस्तर माथि उठाउन निःशुल्क अनौपचारिक विद्यालय सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भरतराज आचार्यले औद्योगिक सम्बन्ध असल भएमात्र उत्पादकत्व वृद्धि हुने बताउनुभयो । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्र कुँवर, केन्द्रीय सदस्य बलदेव तामाङ, जिफण्टका उपाध्यक्ष विदुर कार्कीलगायतले मुलुकको अहिलेको समस्या बेरोजगारी भएकाले रोेजगार सिर्जना गर्न सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । गोष्ठी दुई दिनसम्म चल्नेछ ।
