समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गरौँ : उपराष्ट्रपति पुन

परासी, १७ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गर्न सुझाव दिनुभएको छ ।

नेपाल प्रकृत्ति र संस्कृतिका हिसाबले विश्वमै धनी मुलुक भएकाले यिनै क्षेत्रकै भरपुर उपयोग गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान साकार पार्न सकिने उहाँले बताउनुभयो ।

पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा आजदेखि शुरु भएको प्रथम औद्योगिक व्यापार मेला एवं लोकसांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो देश प्रकृति र संस्कृतिमा धनी हुँदाहुँदै पनि यसको ठीक ढङ्गले उपयोग गर्न सकिएको छैन्, प्रकृति र संस्कृतिलाई ठीक ढङ्गले सदुपयोग गर्दै पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ ।”

यसैगरी प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिएर विकास योजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका युवालाई प्रदेशमै रोजगार उपलब्ध गराउन अहिले प्रदेश सरकारले बनाइरहेको आवधिक योजना पनि अन्तिम चरणमा पुगेको छ ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य सङ्घ सुनवलको संयुक्त रुपमा आजदेखि आयोजना गरेको मेला आगामी माघ २८ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्य लगायतले बोल्दै नवलपरासीको औद्योगिकीकरण र पर्यटनको विकासमा पहल गरिदिन उपराष्ट्रपति पुनलाई आग्रह गर्नुभएको थियो ।

नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो मेलामा नेपाली मौलिक कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिका परम्परागत घरहरु, फरकफरक जातजातिका मौलिक खानाका परिकार प्रदर्शनीमा राखिएको छ । दैनिक रुपमा फरकफरक जातजातिका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रस्तुत हुने प्रतिष्ठानका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

रङ्गशाला परिसरमै रहेको तालमा डुङ्गा सफारी, घोडा सफारी र ऊँट पनि विशेष आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा १५० भन्दा बढी कक्ष रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

सरकार होइन प्रणालीमा परिवर्तन : उपप्रधानमन्त्री पोखरेल

कावासोती, १७ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखे्रलले अहिलेको अवस्था सरकार परिवर्तन मात्र नभएर प्रणालीमा परिवर्तन भएको बताउनुभएको छ ।

नवलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आजबाट कावासोतीमा शुरु पाँचौ नवलपुर महोत्सवमा उहाँले अहिले केवल सरकार परिवर्तन भयो भनेर नबुझ्न आग्रह गर्दै प्रणालीमै परिवर्तन भएको बताउनुभयो ।

“आवश्यक कानून निर्माण र भएका कानूनहरुको संशोधन गरेर छलफलका लागि अगाडि बढाइएको छ, ढिलोमा चैतको तेस्रो हप्तासम्ममा मुलकलाई चाहिने सबै कानून निर्माण गरिसक्छौँ,” उपप्रधानमन्त्री पोखे्रलले भन्नुभयो, “कानून निर्माणपछि सोही अनुसार नयाँ संरचनाहरु निर्माण गरेर यो प्रणालीमा भएको परिर्वतलाई गतिका साथ हिँडाउनेछौँ ।” उपप्रधानमन्त्री पोख्रेलले दुई तिहाइ बहुमत जनताको विश्वासका आधारमा प्राप्त गरेको बताउँदै सरकारले बोलेका कार्यहरु आफ्नो कार्यकालमा पूरा गरेरै छाडने बताउनुभयो । निर्वाचनको बेलामा जारी गरेको साझा घोषणापत्रमा भएअनुसार जनताका हितमा कार्य गर्ने बताउनुभयो ।

महोत्सव माघ २७ गतेसम्म चल्नेछ । नवलपुर क्षेत्रको उद्योग, व्यापार, कृषि उत्पादनको बजारीकरण, कला, संस्कृति, पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको सङ्घका अध्यक्ष डासुराज पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.